रुसी विपक्षी नेता अलेक्सी नाल्भानीलाई तत्काल रिहाको माग

एजेन्सी । रुसले विपक्षी नेता अलेक्सी नाभाल्नीलाई तत्काल रिहा गर्नुपर्ने जर्मनीका विदेशमन्त्री हैको माआजले सोमबार आग्रह गरेका छन् ।

जर्मनीमा उपचारपछि स्वदेश फर्किएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा पश्चिमा देशहरुले विरोध गरेका थिए ।त्यसपछि जर्मनीका विदेशमन्त्रीले सो आग्रह गरेका हुन्। त्यस्तै अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनको टोलीले पनि नाभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले नाभाल्नीलाई पक्राउ गरिएकोमा ट्विटरमार्फत टिप्पणी गरेका छन् । नाभाल्नीको रिहाको युरोपियन युनियन इयुले पनि माग गरेको छ ।

क्रेमलिनका आलोचक ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएको थियो । उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो । गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात् बिरामी परेका नाभाल्नीलाई आकश्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो । फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस् बनाउने सोभियतकालीन रसायन नोभिचोक खानामा मिसाएर खुवाइएको पनि जर्मनीले आरोप लगाएको छ ।

उनलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरूले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । उनलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाहअनुसार उनी जर्मनीमै आराम गरिरहेका थिए । रूसी प्रशासनले उनलाई स्वदेश फर्किएपछि पक्राउ गर्न सक्ने चेतावनीबीच उनी राजधानी मस्को फर्किएका थिए । क्रेमलिनको कट्टर आलोचक विपक्षी नेता नाभाल्नीले आफू निर्दोष रहेको र देशका लागि काम गरिरहेको बताउँदै यसक्रममा आफूलाई पक्राउ गर्ने भनी आएका समाचारबाट आफू स्वदेश फिर्ता हुन नडराएकोे बताएका थिए ।

उनी आइतबार ग्रीनवीच समयअनुसार साँझ ४ः२० मा बर्लिनबाट मस्कोका लागि फर्किएका हुन् । मस्कोको नुकोभो विमानस्थलमा उनी चढेको विमान अवतरण हुने बताइएको थियो । रूसी प्रशासनले उनलाई जेलबाट छुट्दा गरेको प्रतिवद्धता उल्लङ्घनको आरोपमा पुनः पक्राउ गरी छानविन हुनसक्ने बताएको छ ।