हत्या र बलात्कार मुद्दाका आारोपी बमजम किन प्रहरीको हात लाग्दैनन् ?

काठमाडौं । रामबहादुर बमजन आश्रम पुगेका ठूलो संख्याका प्रहरी रित्तो हात फर्किनुपर्‍यो ।

गत ३ र ४ जेठमा बमजन खोज्दै पुगेको प्रहरीले उनलाई नभेटेपछि आश्रमलाई शील गरेको छ । लगातार १६ घन्टा खोज्दा पनि प्रहरीले बमजनलाई फेला पार्न सकेन । पहिले पनि बमजन खोजीमा प्रहरीले गत वर्ष २४ माघमा आश्रम शील गरी खोजी गरेको थियो । तर प्रहरीको प्रयास त्यतिखेर पनि सफल भएको थिएन । केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीबाट खटिएको टोलीले यस पटक खाली हात नजाने विश्वाससहित संयुक्त रूपमा छापा मारेको थियो, तर प्रहरी प्रयास यस पटक पनि हात लाग्यो शून्य भयो । आश्रममा लुकेर बसेको आशंकामा आश्रम शील गरेर कुकुरसमेत लगाई खोजी गरे पनि बमजन भने आश्रममा फेला परेनन् ।

आनीहरूमाथि यौन हिंसा, बेपत्ता पारेको र हत्या गरेको भन्दै बमजनविरुद्ध सर्लाही, मकवानपुर र नुवाकोटमा किटानी जाहेरी परेको छ । आश्रमबाट सर्लाहीकी रीता वोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी चिनीमाया रुम्लाबाई बमजनले नै बेपत्ता पारेको उजुरी प्रहरीमा परेको छ । यस्तै, बाराका सुरेश आले मगर, मकवानपुरका सञ्चमान वाइवा सिन्धुली आश्रमबाट बेपत्ता भएको परिवारजनले आरोप लगाएका छन् । पछिल्लो समय सर्लाहीमा एक नाबालिकालाई बलात्कार गरेको किटानी जाहेरीका आधारमा प्रहरीले बमजनलाई पक्राउ गर्न जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । सोही आधारमा सिन्धुली आश्रममा प्रहरीले बमजन पक्रिन दुईपल्टसम्म छापा मारिसकेको छ तर हातमा लाग्यो दही भएको छ ।

आश्रममा सुरुङ बनाएर लुकेको हुन सक्ने भन्दै दुइटा तालिमप्राप्त कुकुरसमेत परिचालन गरेर खोजी भएको थियो । ४२ बिघामा फैलिएको आश्रमले सामुदायिक वनको १८ बिघा जग्गासमेत कब्जा गरेर काँडे तार लगाएको छ । बमजन लुकेर बस्न सक्ने आश्रम नजिकैको जंगल र सम्भावित ठाउँहरूमा खोजतलास गरे पनि फेला पर्न नसकेको सिन्धुली प्रहरी प्रमुख रन्जु सिग्देल बताउँछिन् । बम्जन पक्राउका लागि आएको टोलीलाई सिन्धुली प्रहरीले सहयोग मात्र गरेको उनको भनाइ थियो । बमजनको वोधिश्रवण धर्म संघले ५ जेठमा विज्ञप्ति जारी गर्दै प्रहरीले आश्रमभित्र पसेर खोजतलासका नाममा अनुयायीहरूमाथि हातपात गर्दै मानसिक र शारीरिक यातना दिएकामा आपत्ति प्रकट गरेको छ । बमजन तीन वर्षका लागि ध्यानमा लीन भएकाले जति खोजी गरे पनि नभेटिने अनुयायी सोनाम तामाङको दाबी छ ।

 

सदरमुकाम सिन्धुलीमाढीको कमलामाई नगरपालिका– ५ मधुटार हुँदै सिलामे पार गरेपछि ८ किलोमिटर पश्चिम, दक्षिणमा पैरे अवस्थित छ । सडक सञ्जालले जोडिएको पैरे जाने सडक ठाउँठाउँमा कालोपत्रेसमेत भएको छ । सिलामे कटेपछि भने यतिबेला सडक निर्माणाधीन रहेकाले सवारी आवागमन बन्द छ । प्रहरीले भने पैरे जानका लागि आवागमन बन्द रहेको सडकलाई रोज्यो, बमजनलाई पक्रिन । मिनीबस, माइक्रो, हायस र साना गाडी लिएर आएको प्रहरी टोली ४ जेठ बिहानै सिलामे पुगेको थियो । सडक निर्माणाधीन रहेकाले प्रहरी टोलीले सवारी चालकहरूलाई त्यही छाडेर बमजन आश्रमतिर लागेको थियो । उक्त स्थानबाट बमजन आश्रम पुग्न करिब आधा घन्टाको पैदल यात्रा तय गर्नुपर्छ ।

चारैतिर अनकन्टार जंगल बीचमा रहेको आश्रमबाट भाग्नलाई बमजनका निम्ति त्यो समय पर्याप्त थियो । रोचक के भने प्रहरीले आश्रममा छापा मार्ने कुरा अघिल्लै दिन जानकारी भइसकेको स्थानीयहरूले बताएका छन् । एक स्थानीयका अनुसार प्रहरी पुग्ने अघिल्लै रात आश्रमसम्म सवारी साधन लैजान उक्त स्थानमै रहेको प्रहरी टोलीले सडक हेर्न र खाल्डाखुल्डी पुर्न राती अबेरसम्म काम गरेको थियो । सोही कारण आश्रममा छापामारी हुन लागेको सूचना पहिले नै प्रहरीबाटै चुहिएको हुन सक्ने स्थानीयको दाबी छ ।

सिन्धुली प्रहरीले चाहे बमजन जुनसुकै बेला पक्राउ पर्न सक्छन् । तयारीसाथ आश्रम पुगेको प्रहरीले सूक्ष्म खोजतलास गरे पनि बमजन आश्रमबाट बाहिरिइसकेका थिए । अनुयायीहरूले त भेट्न मुस्किल हुने बमजनलाई सजिलै पक्राउ गर्न नसकिनेमा प्रहरी पुगेको छ । अघिल्लो पटक माघमा बमजन पक्रिन आएको प्रहरीले त पहिले नै सूचना दिएको थियो ।

ताजा अपडेट