आगो ताप्दा ८८ वर्षीया वृद्धा भइन् खरानी

धनकुटा । धनकुटा नगरपालिका–९ बेलहारामा आइतबार बिहान जलेर ८८ वर्षीया वृद्धाको मृत्यु भएको छ। आगो ताप्ने क्रममा भक्तकुमारी बरालको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए।

घरमा कोही नभएको समयमा आगो ताप्ने क्रममा वृद्धाको शरीरमा आगो सल्किएको प्रहरीले बताएको छ। परिवारले बिहान पौने ९ बजे भक्तकुमारीलाई मृत फेला पारेका थिए। शव धनकुटा जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ।

यसैगरी धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ शिवालय टोलमा आगलागीबाट एक घरमा क्षति पुगेको छ। चुल्होबाट सल्किएको आगोले अमरबहादुर लिम्बुको एक तले घर पूर्णरुपमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख अधिकारीले जानकारी दिए।

आगलागी पीडितलाई जिल्ला दैवी प्रकोप उद्धार समिति, गाउँपालिका र रेडक्रस सोसाइटीले राहत सामग्री दिएको छ। पीडित परिवारलाई दैवि प्रकोप उद्धार समितिमार्फत २० हजार आर्थिक सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए।