लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू लोकतन्त्रको हत्या भयो भन्दै सडकमा : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले अहिले देशको राजनीति रेफ्रीविनाको खेलजस्तो भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत हाँले देशमा जसको शक्ति उसको भक्ति कायम रहेकाले राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्ने बताए ।

‘राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू लोकतन्त्रको हत्या भयो भन्दै सडकमा उत्रिएका छन्,’ उनले भने, ‘राजसंस्था प्रजातन्त्रको बाधक होइन, संविधानको परिधिभित्र राख्ने होभने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ ।’

वर्तमान अवस्थामा एकले अर्कोलाई समाप्तपार्ने प्रतिस्पर्धा चलिरहेको बताउँदै अध्यक्ष थापाले मुठभेड बढदै जाँदा राजनीतिक दल र नेताको नियन्त्रणबाट परिस्थिति बाहिर जानेतर्फ सचेत हुन आग्रह गरे । केपी ओलीको गल्ती सच्याउन अर्को खतरनाक गल्ती नगर्न पनि उनले आग्रह गरे ।
अध्यक्ष्य थापाले अहिलेको अभिभावकिय रिक्ततामा गैरराजनीतिक शक्ति र विदेशीको हातमा देशको बागडोर जानसक्नेब खतरा रहेको स्मरण गराउँदै देशको परिस्थिति विगार्न देशीविदेशी शक्तिहरू क्रियाशील रहेको बताए । उनले एकले अर्कोलाई गलत प्रमाणित गर्ने होडमा कोही पनि अन्धो र मतिभ्रम नबन्न पनि सुझाव दिए ।

साथै अध्यक्ष थापाले धरातलीय यथार्थ बुझेर र विगतका कमजोरी हटाएर सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न पनि सबैसँग अपिल गरेका छन् ।