भागरथी हत्या प्रकरणमा दुई दर्जन व्यक्ति निगरानीमा,

काठमाडौं। बैतडीको दोगडाकेदार नगरपालिका-७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका क्रममा प्रहरीले दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ ।

गत बुधवार विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोष्टमार्टम रिपोर्ट समेत आइसकेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी उत्तमराज सुवेदीले शवको पोष्टमार्टमबाट बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको रिपोर्ट सोमबार प्राप्त भएको जानकारी दिए ।

‘बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोस्टमार्टम रिपोर्ट आएको छ, प्रहरीले हत्याको अनुसन्धानमा टेक्निकल र म्यानुअल गरी विभिन्न विधिबाट अनुसन्धानलाई अघि बढाएको छ, घटनामा संलग्नलाई छिटै नियन्त्रणमा लिन्छौं,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी सुवेदीले हाम्राकुरासँग भने ।

प्रहरीले हत्याको अनुसन्धानमा सोमबारसम्म दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको दायरामा राखेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए ।

उनका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायण अधिकारीको कमाण्डमा शुरु देखि नै प्रहरी टोली परिचालन हुँदै आएको छ । यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलबाट एसएसपी जनकराज पाण्डेको नेतृत्वको टोलीसमेत खटिएको छ ।

यसैगरी केन्द्रीय अनुसन्धान व्युरोको टोलीलेसमेत घटनाको अनुसन्धान गरिरहेको छ भने घटनाको सूक्ष्म अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको समेत साथ लिंदै अनुसन्धानलाई अघि बढाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी सुवेदीसमेत आइतबारदेखि नै घटनास्थल आसपासमै छन् ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा चिनाजानका, नजिकका आफन्त र स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यस नजिक सम्पर्क भएका फोनलाई समेत अनुसन्धानको दायरामा ल्याइएको जनाएको छ ।

‘घटनाको अनुसन्धानका लागि चिनाजानका, नजिकका आफन्त र स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा रहेका व्यक्ति, घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यस नजिक सम्पर्क भएका फोनलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सिंहले भने, ‘घटना यता अहिलेसम्म दुई दर्जन बढी व्यक्तिसँग सोधपुछ गरेका छौं, उनीहरूलाई निगरानीमा नै राखिएको छ ।’

भागरथीले भारतीय र नेपाली सीमकार्ड प्रयोग गर्ने गरेको पाइएको छ । उनले भारतमा बस्दै आएका आफन्तसँग कुरा गर्नका लागि भारतीय सीमकार्ड प्रयोग गरेको हुन सक्ने र त्यसतर्फसमेत अनुसन्धान आवश्यक परे भारतीय प्रहरीको सहयोगसमेत लिइने प्रहरी बताउँछ ।

प्रहरीका अनुसार बुधवार भागरथीलाई मोबाइलमा केही फोन आएको तर उनले फोन ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको देखिएको छ ।  ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भागरथीको कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, घाँटी निमोठेको पाइएको छ । शवको प्रकृति हेर्दा भागरथीले अपराधीसँग सङ्घर्ष गरेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरूको दाबी छ ।

गत बुधवार विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी भागरथी बिहीबार साँझ लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । उनी घरमा आमा एक्लै रहेको भन्दै साथीहरूबाट बिदा भएर स्कूलबाट घर जान भनी हिंडेकी थिइन् ।