राजधानीमा दिनभर झाँक्रीको नाच हुम्लामा लुताको औषधि अभाव

काठमाडौं । राजधानीमा दिनभर झाँक्रीको नाच  हुँदा हुम्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा भने भेडाबाख्राहरुमा देखिएको लुताको औषधि अभाव भएको छ । उक्त गाउँपालिकाका– ६ निवासी कृषकजंग ऐडीका अनुसार गाउँबाट कृषकहरु सदरमुकाम सिमिकोटमा आए पनि औषधि पाउन सकेका छैनन् । जिल्लामा कम मात्रामा हिमपात भएकाले गाईवस्तुलाई लुतो रोग लागेको ऐडीले बताए ।

जिल्लामा रहेका सरकारी कार्यालयमा कार्यालय प्रमुख नहुँदा कार्यालय सहयोगीले कामकाज गर्न बाध्य भएका छन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले सम्पूर्ण फाँटमा आफैँ कामकाज गरिरहेका छन भने अन्य कार्यालय तथा हुम्ला जिल्लाका सातै गाउँपालिकामा पनि कार्यालय सहयोगीले नै सरकारी कामकाज गरिरहेका छन् ।

यसैबीच, हिल्दुम वितरण केन्द्रमा उपभोक्ता समितिबाट नहर र पोखरी राम्रोसँग मर्मत कार्य नगर्दा सिमिकोट गाउँपालिकाको वडा नं ५, ६ र बजारमा दिनको १५ घण्टा विद्युत्भार कटौती हुने भएकाले विद्यार्थीलाई पठनपाठन गर्न र कर्मचारीलाई कामकाज गर्न गाह्रो भएको छ । राजधानीमा दिनभर झाँक्रीको नाच हुम्लामा लुताको औषधि अभाव भन्ने उखान चरितार्थ भएको छ ।