बैशाखमै चुनाव हुन्छ ढुक्क हुनुहोलाः विष्णु पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी वैशाखको चुनाव दुनियाँको कुनै तागतले रोक्न नसक्ने बताएका छन् ।

शनिबार ओली समूहको लुम्बिनी प्रदेशद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले वैशाख १७ र २७ गते निर्वाचन हुने बताएका हुन् । वैशाखको चुनाव दुनियाँको कुनै तागतले रोक्न नसक्ने उनको भनाइ छ । उनले लुम्बिनी प्रदेशका नेता–कार्यकर्तालाई प्रदेशमा बहुसंख्यक सिटमा मात्रै नभई हिजो हारेको ठाउँमा पनि जित्ने गरी चुनावी तयारी गर्न निर्देशनसमेत दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बलियो र शक्तिशाली पार्टी बनाई नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहेको भए पनि षड्यन्त्रकारी तत्वका कारण पार्टीका नेता तथा कार्यकर्ताले एक कार्यकाल पुनः अध्यक्ष र प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको उनले उल्लेख गरे । वैशाखको चुनावपछि ओली नेतृत्वको पार्टीको बहुमतको सरकार निर्माण गर्न कुनै तागतले रोक्न नसक्ने पनि उनले बताए ।

“म यहाँहरुलाई बताउन चाहन्छु, वैशाखमा चुनाव हुन्छ । वैशाखको १७ गते चुनाव हुन्छ । वैशाखको २७ गते चुनाव हुन्छ । दुनियाँको कुनै तागतले चुनावलाई रोक्न सक्दैन । म यहाँहरुलाई आग्रह गर्न चाहन्छु, यहाँहरु जनसभाबाट फर्किएपछि गाउँगाउँमा, टोलटोलमा, बस्तीबस्तीमा चुनावको तयारीमा लाग्नुहोस् । वैशाख १७ गतेको चुनावको तयारीमा लाग्नुहोस्,” उनले भने ।

महासचिव पौडेलले ओली नेतृत्वको नेकपामा जनमत रहेको भन्दै पार्टी आधिकारिकताको लागि योभन्दा ठूलो वैधानिकता अरु केही नहुने जिकिर गरे । जनताको साथ, समर्थन र ऐक्यबद्धता भएको पार्टी वैधानिक हुने भन्दै उनले ओली नेतृत्वको नेकपासँग वैधानिकता रहेको र चुनाव चिह्न पनि ओली नेतृत्वकै पार्टीमा हुने दाबी गरे । उनले आफ्नो हातमा रहेको सूर्य चिह्नलाई आत्मविश्वासका साथ फहराउन कार्यकर्तालाई आह्वानसमेत गरेका थिए ।

उनले भने, “पार्टीको आधिकारिकताको बारेमा कतिपय मान्छेहरुले भ्रम छर्ने गरेका छन्, पार्टीको चुनाव चिह्नको बारेमा । यति ठूलो जनसंख्या, यति ठूलो जनमत, तराईको, पहाडको हिमालको, पूर्वको, पश्चिमको, सहरको गाउँको, सबैतिरको यति ठूलो जनमत जब कमरेड केपी शर्मा ओलीको नेतृत्वमा उहाँले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा छ भने योभन्दा ठूलो वैधानिकता के हुन्छ ? जनताको अभिमतभन्दा ठूलो, जनताको साथ र समर्थनभन्दा ठूलो, जनताको ऐक्यबद्धताभन्दा ठूलो वैधानिकता अरु केही हुन्छ ? हुँदैन । यसकारणले म यहाँहरुसँग यहाँहरुको आँखामा आँखा जोडेर भन्न चाहन्छु, यहाँहरुसँग आत्मविश्वासका साथमा म प्रस्तुत हुन चाहन्छु, नेपाल कम्युनिस्ट पार्टीको वैधानिकता केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसँग रहनेछ । चुनाव चिह्न, सूर्य चिह्न कमरेड केपी शर्मा ओलीले नेतृत्व गरेको कम्युनिस्ट पार्टीसँग रहनेछ । यहाँहरुले आफ्नो हातमा रहिरहेको सूर्य चिह्नलाई आत्मविश्वासका साथमा फहराउनुस् ।”

महासचिव पौडेलले नेकपा विभाजन नभएको जिकिर गरे । नेकपाका इमानदार कार्यकर्ता, जनता तथा योद्धाहरुले नेकपालाई विभाजन गर्न नदिने उनको भनाइ छ । आफूहरुले एकता जोगाएर अघि बढ्न चाहेको भए पनि पार्टीभित्रको षड्यन्त्रको कारण तथा जंगली महत्वांकाक्षाका कारणले विभाजन हुन्छ कि भन्ने आशंका भएको उनले बताए । कम्युनिस्ट आन्दोलनको प्रगति र समृद्धि देख्न नचाहने, संविधानको प्रभावकारी कार्यान्वयन देख्न नचाहनेहरुलाई पार्टी विभाजन भएको लागे पनि अन्योलमा हुनेहरु फर्किएर यही आन्दोलनमा आउने उनले विश्वास व्यक्त गरे । उनले ओलीले संविधान निर्माणको कामको नेतृत्व गरेको, संविधान कार्यान्वयनमा विश्वसनीयता कायम गरेको र मानवीय र भौतिक दृष्टिकोणले हेर्दा पनि इतिहासमै नभएको ऐतिहासिक काम गरेको भन्दै राजनीतिक स्थायित्वको निम्ति ओली नेतृत्वकै पार्टीमा आउन सबैलाई आग्रहसमेत गरे ।

“आज जो–जो साथीहरु अलमलमा हुनुहुन्छ, जो–जो साथीहरु अन्योलमा हुनुहुन्छ, उहाँहरु पनि फर्किएर यही आन्दोलनमा आउनुहुन्छ । म आग्रह गर्न चाहन्छु ती तमाम साथीहरुलाई, जसले निष्ठाका साथमा, इमानदारिताका साथमा नेपाली कम्युनिस्ट आन्दोलनका माध्यमबाट नेपाली जनताको सेवा गर्न चाहनुभएको छ, राष्ट्रको स्वाधीनता र सम्मान अभिवृद्धि गर्न चाहनुभएको छ, जसले मुलुकलाई समृद्धितर्फ, समाजवादतर्फ अगाडि बढाउन चाहनुभएको छ,’’ उनले भने, ‘‘अलमलमा परेका ती तमाम साथीहरु, मेचीदेखि महाकालीसम्मका तराईदेखि हिमालसम्मका ती तमाम साथीहरुलाई म आग्रह गर्न चाहन्छु अलमलमा नपर्नुस्, आउनुहोस् । कमरेड केपी शर्मा ओली नेतृत्वको यही पार्टीले हिजो संविधान निर्माणको काम अगुवाई गर्‍यो । संविधान निर्माणको अभियानलाई सार्थकताको विन्दुमा पुर्‍यायो । संविधान कार्यान्वयनका बलियो र विश्वसनीय आधार तयार गर्‍यो । बलियो सरकार निर्माण गर्‍यो । सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा ऐतिहासिक महत्वको कीर्तिमानी काम गरेको छ । इतिहासमा कहिल्यै नभएको काम भएको छ ।”

पौडेलले ओली सरकारलाई जनताले साथ दिएको तथा प्रतिपक्षले समेत विरोध गर्न नसकेको स्थितिमा पार्टीभित्रैबाट विभिन्न बाहानाबाजी गर्दै प्रधानमन्त्री र अध्यक्षबाट हटाई पार्टी र सत्ताकब्जा गर्न लागेका कारण पार्टी चोइटिएको टिप्पणी गरे ।

उनले लुम्बिनी प्रदेशलाई विकासमा पछाडि पर्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे । ओलीको नेतृत्वमा गोलबद्ध भएकाहरुले प्रदेशलाई समृद्ध बनाउँछौँ भन्ने आत्मविश्वाससाथ आफ्नो कार्यक्षेत्रमा फर्कन उनले कार्यकर्ताहरुलाई आग्रह गरे । पार्टीबाट केही स्वार्थी तत्व किनारा लागे पनि अलमलमा परेकाहरु आफ्नो पार्टीमा फर्कने र शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गरी पुनः एक कार्यकाल ओलीलाई प्रधानमन्त्री बनाउने उनले दाबी गरे ।

“केही षड्यन्त्रकारी तत्वहरुका कारणले गर्दा हामी पार्टी, नेता, कार्यकर्ता, सदस्य, नेपाली मतदाताहरुले फेरि एकपटक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भन्नुपर्ने भएको छ, कमरेड, तपाईंले एउटा कार्यकाल पार्टीको अध्यक्ष भएर जिम्मेवारी सम्हाल्नुपर्ने आवश्यकता अहिले पनि देखापर्‍यो । कमरेड, तपाईंले मुलुकको प्रधानमन्त्री भएर वैशाख १७ र २७ गतेको निर्वाचनपछि पनि मुुलुकको प्रधानमन्त्री भएर एकपटक एउटा कार्यकाल मुलुकलाई नेतृत्व गर्नुपर्ने आवश्यकता अहिले पनि देखापर्‍यो ।”

उनले सभाले नेकपा फुटेको नभई केही स्वार्थी, षड्यन्त्रकारी तत्व चोइटिएको र नेपाली जनता ओलीको पक्षमा छन् भन्ने पुष्टि गरेको पनि बताए । उनले केही मुठीभरका नेताको जंगली महत्वकांक्षाका कारण नेकपा विभाजित हुन्छ कि ? भन्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।

“केही मुठीभरका मान्छेले कम्युनिस्ट आन्दोलन अघि बढेको देख्न चाहेका छैनन् । त्यस्ता प्रवृत्ति भएका नेताहरु किनारा लाग्ने र केही साथीहरु सडकमा गएको अवस्था छ । पार्टीको सत्ताकब्जा गर्ने र मुलुकको सत्ताकब्जा गर्ने केही स्वार्थी र विखन्डनकारी तत्व मात्रै चोइटिएको हो । ओलीको पक्षमा जनमत छ भन्ने कुरा जनसभाहरुले पुष्टि गरेको छ,” उनले भने ।