कर छल्न गोपिकृष्णका साहु उद्धव पौडेलले भत्काए सिनेमा हल

काठमाडौं । नेपाली सिनेमा जगत्मा कुनै बेला निकै चर्चित मानिएका निर्माता एवं गोपी कृष्ण मुभिज सञ्चालक उद्धव पौडेलले राज्यलाई तिर्नु पर्ने कर छली गर्दै गोपीकृष्ण हल भत्काएका छन् ।

राप्रपाका नेता समेत रहेका उद्धव पौडेलले गोपी कृष्ण सिनेमा हल सञ्चालन गरेदेखि अहिलेसम्म पनि व्यवसाय गर लगाएत कर तिरेका छैनन् ।
अहिले राजनीतिक अस्थिरताको मौकाको फाइदा उठाउँदै उनले हल सञ्चालन गर्दाको कर छली गर्न सिनेमा हल भत्काएको बुझिएको छ ।

काठमाडौं महानगरपालिकाले पनि गोपिकृष्ण सिनेमा घरलाई कर तिर्न पटक पटक ताकेता गर्दा पनि कर तिर्न अटेरी गरेको काठमाडौं महानगरपालिका राजश्व विभागले जनाएको छ । महानगरपालिका राजश्व विभागका अनुसार गोपिकृष्ण सिनेमा घरलाई बुझाउनु पर्ने कर तिर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरी कर बुझाएको छैन । उल्टै सिनेमा भवन भत्काएर राज्यलाई कर छली गर्ने प्रयास गरेको महानगरको आरोप छ ।

सरकारलाई कर तिर्न अटेर गर्ने उद्धव पौडेल चर्चामा रहेका सञ्चारकर्मी रवी लामिछानेका ससुरा हुन् । अघिल्लो सातादेखि उद्धव पौडेलले गोपी कृष्ण हल भत्काउन शुरु गरेका थिए । कर छल्ने नियतले उनले भवन भत्काएको आरोप लागेको छ ।