चितवनबाट सभामुख भन्छन् अब संसद् पुनः नियमित चल्छ

चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुन सक्ने विश्वास व्यक्त गरेका छन् । शनिबार पत्रकारहरुसँग कुराकानीमा चितवनमा रहेका उनले संसद् नियमित चल्ने समेत जिकीर गरे ।

संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पहिले जसरी संसद् चलेको थियो । त्यही अनुसार संसद् चल्छ । अब दलहरुबीच छलफल र समझदारी हुन्छ ।’ राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उनको भनाइ छ ।

राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उनको भनाइ थियो । उनले भने, ‘मैले सहजीकरण गर्ने छु । राजनैतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन ।’

संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने उनले बताए ।

ताजा अपडेट