ओलीले होइन, ओलीसँग स्पष्टीकरण मागिन्छः घनश्याम भुसाल

नेकपा सिंगो भएको वेला पार्टीभित्रैबाट केपी ओलीको राजीनामा माग भइरहेको थियो, त्यतिवेला तपाईंले ओलीजीलाई खाली खुट्टा हिँडाउँदै बालुवाटारबाट बालकोट पठाइनेछैन भन्नुभएको थियो । तर, तपाईंहरूलाई पार्टीबाट खाली खुट्टा पठाउने तयारी भएजस्तो देखिन्छ । अहिले सोधिएको स्पष्टीकरणले के संकेत गर्छ ? तपाईंहरूको प्रतिक्रिया के छ ?

यो नेता हिँडाउने होइन, विधि र विधान हिँडाउने प्रपञ्च हो । हिजो ओलीजीले संसद्समेत हिँडाउने, त्यसमार्फत संविधान हिँडाउने प्रयास गर्नुभएको थियो । अहिले विधान र त्यसमार्फत पार्टी नै हिँडाउने कोसिस गर्दै हुनुहुन्छ । यसर्थमा यो चानचुने विषय होइन । संसद् र संविधानविरुद्ध देशभित्र र बाहिरका सेटिङका साथ उहाँले जे षड्यन्त्र गर्नुभएको थियो, त्यसमा चोट खाएर निस्कनुभएको छ । त्यसैले उहाँले त्यसको बदला हामीसँग लिन खोज्दै हुनुहुन्छ । किनकि उहाँको यात्रामा हामीले अवरोध गरेका थियौँ । संसद् विघटनविरुद्ध सबै पार्टीहरू, नागरिक समाज, बुद्धिजीवी र सबैभन्दा सुरुमा त हामी नै उभियौँ । सुरुमा हेर्दा यो नेकपाभित्रको मुद्दाजस्तो मात्रै देखिएको थियो । पछि आएर सबै नागरिकको मुद्दा बन्यो, खासमा लोकतन्त्रकै प्रश्न बन्यो । सबै नेपाली एक ठाउँमा उभिएपछि उहाँको षड्यन्त्र असफल भयो । त्यसको बदला अहिले लिँदै हुनुहुन्छ । त्यसका लागि एमाले विभाजन गर्न उद्यत् हुनुहुन्छ । अहिलेको व्यवस्था भत्काउने उहाँको उद्देश्य हो । त्यसका लागि उहाँले स्पष्टीकरण माग्नुभएको छ, यो ठूलो विषय होइन । तर, आगामी स्वयं सरकार, राष्ट्रपति कार्यालय, अख्तियार, निर्वाचन आयोग र उहाँले उपयोग गर्न सक्ने सत्ताका सारा संयन्त्र दुरुपयोग गर्दै जानुहुन्छ । त्योचाहिँ चिन्ताको विषय हो ।

तपाईंहरूलाई स्पष्टीकरण सोधेर चेतावनी दिने वा तर्साउने मात्रै हो कि कारबाहीको तहसम्म जाने तयारी छ ? तपाईंहरूसँग जानकारी के छ ? मूल्यांकन के छ ?

उहाँ के गर्नुहुन्छ, के गर्नुहुन्न भनेर अनुमान गर्न नसकिने पात्र हो । हामी जोसुकैले सोच्ने सीमाभन्दा उहाँ अझैँ पर पुग्न सक्नुहुन्छ, त्यो पनि सजिलै । हामीले अहिले सोच्दा संविधान कानुन, समाज, मर्यादा, परम्परा, मूल्य र मान्यताभित्र रहेर बदमासी नै भयो भने पनि यतिसम्म होला भनेर सोच्छौँ । तर, उहाँ सधैँ त्योभन्दा पर पुग्नुहुन्छ । त्यसैले अब के गर्नुहुन्छ ? भन्न सकिँदैन । तर, निःसन्देह के भन्न सकिन्छ भने उहाँले अब धेरै चिज भत्काउनुहुन्छ । उहाँले त्यो वामएकता, गठबन्धन, हाम्रो बहुमत, जनताको आशा र विश्वास, स्थिरतातर्फको यात्रा सारा भत्काउनुभयो । अब बाँकी एउटा छ, नेकपा एमाले । त्यो पनि भत्काउन लागिराख्नुभएको छ । रोममा दासहरूले वेलावेलामा विद्रोह गर्थे र मालिकहरूले सयौँको संख्यामा ती विद्रोहीहरूलाई किलोमिटरको दूरीमा बाटोभरि झुन्ड्याउँथे । र, तिम्रो हालत यस्तै हुन्छ भनेर अरूलाई सुनाउँथे । उहाँले अहिले गर्न खोजेको यही हो । संसारमा जोसुकै होस्, त्यो आफ्नो प्रशंसक र चाकर हुनुपर्छ भन्ने मान्यता, दर्शन, विश्वास र सिद्धान्त उहाँको छ । जो चाकर हुन स्वीकार गर्दैनन्, ती सबै शत्रु हुन्् । चाकरहरूलाई आदेश गरिन्छ र शत्रुहरूलाई बदला लिइन्छ । उहाँले हामीलाई शत्रु ठान्नुभएको छ, त्यसैले बदला लिँदै हुनुहुन्छ । किनभने हामीले नेकपा एमाले नभत्काऊँ भनेका छौँ । मैले नेकपा एमालेलाई दक्षिण एसियाकै राम्रो पार्टी भन्ने गरेको थिएँ । कांग्रेसकै साथीहरूले पनि केही वर्षअघि स्विकार्थे । हामी आज त्यो पार्टी नभत्काऊँ, नबिगारौँ, एकता बचाऊँ भनिरहेका छौँ । उहाँ भत्काउन लागिरहनुभएको छ ।

तपाईंलगायत चार नेताबाट जुन स्पष्टीकरण मागिएको छ, त्यसको जवाफ दिने कि नदिने ? कसरी दिने ? के तयारी भइरहेको छ ?

हामीले उहाँलाई स्पष्टीकरण त के दिनु छ र ! उहाँ नै वैध होइन । किनभने उहाँले कथित संशोधित विधानअनुसार हामीलाई यो पत्र लेख्नुभएको छ । विधान उहाँले संशोधन गरेँ भन्नुभएको छ । पार्टीको विधान संशोधन हुन सक्छ, तर त्यो विधान अधिवेशनले मात्रै गर्न सक्छ । तर, उहाँले गुटको भेला गरेर विधान संशोधन गरिदिनुभयो । महाधिवेशन आयोजक कमिटी गठन गर्नुभयो । नेकपा एमालेको विधानमा महाधिवेशन आयोजक कमिटी भन्ने व्यवस्था नै छैन । उहाँ त्यस्तो समितिको अध्यक्ष हुनुभएको छ । त्यो अवैधानिक हो । उहाँको अध्यक्ष पदसमेत अवैधानिक हो । अवैधानिक हैसियतबाट उहाँले स्पष्टीकरण सोध्नुभएको छ । एमालेको विधानले उहाँलाई चिन्दैन । हिजो असंवैधानिक रूपमा संसद् विघटन हुँदा हामीले पुनस्र्थापना माग गरेका थियौँ । आज अवैधानिक रूपमा विधान संशोधन हुँदा हामीले पूर्ववत् केन्द्रीय कमिटीको माग गरेका छौँ । हामी वैधानिक व्यवस्थाको पक्षमा छौँ, तर उहाँ भत्काउने पक्षमा हुनुहुन्छ । त्यसैले हामीले उहाँलाई स्पष्टीकरण दिने होइन । बरु हामीले नै उहाँसँग स्पष्टीकरण लिनुपर्ने धेरै मुद्दा छन् । जसबारे हामीले उहाँसँग पक्कै सोध्नेछौँ ।

नयाँ पत्रिका दैनिकबाट

ताजा अपडेट