अभि सुवेदीको ‘विम्बाका सपना’ बुद्ध थिएटरमा

काठमाडौं । बुद्ध थिएटर फेस्टिभलको छैटौं दिन अभि सुवेदीको लेखन रहेको नाटक ‘विम्बाका सपना’ मञ्चन भएको छ । थिएटर मलमा केही वर्ष पहिले घनश्याम श्रेष्ठको निर्देशनमा मञ्चन भएको यो नाटक शुक्रबार भने माला आर्टस् एकेडेमीका कलाकारले प्रस्तुत गरेका थिए । नाटक सन्दीप डंगोलको निर्देशनमा तयार भएको हो ।

१ घन्टा समायावधि रहेको नाटक यशोधराको पीडामा केन्द्रित थियो । सिद्धार्थ गौतम दुधे बालक राहुलको समेत पर्वाह नगरी दुःखको कारण खोज्न दरबार छाडेर हिँडे । यसरी हिँडेको ६ वर्षपछि सिद्धार्थ बुद्ध बनेर फर्किए ।

यही ६ वर्षको बीचमा यशोधराले भोगेको मानसिक पीडालाई नाटकले प्रभावकारी रुपमा प्रस्तुत गरेको थियो । नाटककार अभि सुवेदीले यशोधरालाई विम्बाको नाम दिँदै उनको अन्तद्र्धन्द्धलाई प्रस्तुत गरेका थिए । शुक्रबार मञ्चन भएको नाटकमा भने सन्दीपले विम्बाको मनस्थितिलाई आत्मसंवाद र मल्टिमिडियोका प्रस्तुतिद्धारा अझै रोचक तरिकाले प्रस्तुत गरेका थिए ।

नाटकमा सिरपा मानन्धर, कृतिका भट्टराई, अनिशा भण्डारी, सिरबानी थापा, अम्बिका बराल आदि कलाकारले अभिनय गरेका छन् । गत आइतबारबाट सुरु भएको बुद्ध थिएटरका अघिल्ला दिनमा भारत र हङकङका एक एकसहित ५ नाटक प्रस्तुत भइसकेका छन् ।

राष्ट्रिय नाच घरको प्रेक्षालयमा भइरहेको फेस्टिभलमा मञ्चन भएका सबै नाटकमा बुद्ध र उनको दर्शनलाई केन्द्रमा राखेर बनाइएको नाटक प्रस्तुत गरिएको थियो । शनिबारको अन्तिम मञ्चनसँगै फेस्टिभलको समापन हुने फेस्टिभल निर्देशक पुष्कर गुरुङले जानकारी गराएका छन् । अन्तिम दिन महोत्सवमा विरेन्द्र हमालको निर्देशन रहेको ‘प्रतीत्य सुमुत्पाद’ मञ्चन हुनेछ ।