नेपाल पत्रकार महासंघको निर्वाचनमा २५ प्रतिशत गैरपत्रकार मतदाता

काठमाडौं । राज्यको चौथों अंग भनेर नाक फुलाउँदै हिड्ने पत्रकारहरुको छाता संगठनका रुपमा रहेको नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा करीव १३ हजार भन्दा बढी महासंघका सदस्यहरु मतदाता रहेको छन् । पत्रकार महासंघको आसन्न निर्वाचनमा मुलुक संघीय संरचनामा गए पश्चातको पहिलो निर्वाचत प्रत्यक्ष प्रणाली प्रक्रियाबाट हुन गईरहेको छ । लामो समयको कसरत पछि पहिलो पटक नेपाल पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणालीमा जान सम्भव भएको छ ।

विगतमो पार्षद् प्रणालीबाट सिण्डिकेट लादिँदै आएको निर्वाचनमा यस पटक भने मोफसलमा रहेका वा राजधानीमा नै रहेर पनि नेपाल पत्रकार महासंघको सदस्य बनेका पत्रकारहरुले आफूले रोजेको अध्यक्ष लगायत पदाधिकारीहरु चुन्न पाउने भएका छन् । तर दुखद् कुरा के हो भने नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरण भन्दा पनि निर्वाचन हुनका लागि जसलाई पनि सदस्यता प्रदान गर्ने प्रचलन बढ्दै गएका कारण नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा करीव २५ प्रतिशत गैरपत्रकारहरुले नेपाली पत्रकारहरुको नेता चयन गर्ने भएका छन् ।

हरेक महाधिवेशनको केही साता अगाडिसम्म महासंघको सदस्यता वितरण गर्ने, राजनीतिक दल निकट पत्रकारका संगठनहरुको कोटामा सदस्यता छुट्याउने प्रबृत्तिका कारण पनि नेपाल पत्रकार महासंघको सदस्यता ग्रहण गर्ने धेरै भन्दा धेरै व्यक्ति गैर पत्रकारहरु देखिएका छन् ।
विगतका निर्वाचनको अवस्था हेर्ने हो भने पत्रकार महासंघको निर्वाचनमा नागरिकता वा ड्राइभिङ्ग लाईसेन्स वा कुनै पनि परिचयपत्रले मतदान गर्ने व्यवस्था गरेका कारण विदेशमा रहेका वा उस्तै नाम मिल्ने व्यक्तिलाई समेत मतदात गर्ने अवसर जुट्ने गरेको छ । सायद यो वर्ष पनि सोही अवसर गैरपत्रकारहरुलाई मिल्ने छ ।

पछिल्लो समय नेपाली पत्रकारिता क्षेत्रमा बढ्दै गईरहेको विकृति विसंगतिलाई नेपाल पत्रकार महासंघले तोड्नु पर्नेमा अझ बढाउने काम गरिरहेको पत्रकारहरुकै आरोप छ । निर्वाचित हुनका लागि जस्तो सकुै र जुनसुकै पेशा व्यवसाय गरेका व्यक्तिहरुलाई पनि पत्रकार महासंघको सदस्यता दिने गरिएकाले पत्रकारहरुको प्रतिष्ठामा नै आँच आउने थालेको छ ।

लकडाउनका बेला पत्रकारको परिचय पत्र वोकेको व्यक्तिलाई प्रहरीले चोरी गर्दा गर्दै पक्राउ गर्नु, सवारी चालकदेखि, सेक्युरिटी गार्डसम्मले पत्रकार महासंघको सदस्यता पाउनु, जग्गा कारोबारीदेखि रेष्टुरेष्ट सञ्चालकसम्मले पत्रकारको परिचय पत्र भिरेर हिड्नुले आसन्न निर्वाचनमा २५ प्रतिशत भन्दा बढी मतदाता गैरपत्रकारहरु हुन् भनेर ठोकुवा गर्न सकिन्छ ।

आसन्न निर्वाचनमा लागि जे जति व्यक्तिलाई पत्रकारको पगरी भिराएर मतदान गर्ने अवसर प्रदान गर्न लागिएको छ । आगामी निर्वाचनमा गैर पत्रकारहरुलाई निस्तेज गरेर वास्तविक पत्रकारहरुको मात्र सदस्यता नविकरण गर्ने अवस्था सिर्जना नगर्ने हो भने आगामी दश वर्षभित्रमा नेपाल पत्रकार महासंघको नेतृत्व गर्ने जिम्मेवारी गैरपत्रकारले नपाउँला भन्न सकिन्न ।