धनुषामा स्थानीय निर्वाचनको तयारी तीव्र

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय निर्वाचन नजिकिँदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ । निर्वाचन आयोगको क्यालेण्डरअनुसार निर्वाचन तयारीको काम अघि बढाएको प्रदेश निर्वाचन कार्यालयले जानकारी गराएको छ । धनुषाको १८ वटै पालिकामा खटिने निर्वाचन अधिकृतको तालिम सकिएको बताएका छन् ।

वैशाख ८ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने तयारी भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिएका छन् ।

निर्वाचनमा खटाइने कर्मचारीको विवरण अद्यावद्यिक गर्ने कार्य अन्तिम चरणमा पुगेको छ भने, अद्यावधिक सकिएलगत्तैबाट कर्मचारीलाई मतदान केन्द्रमा पठाइने पन्थीले बताएका छन् । मतपेटिकाको जाँच गर्ने, सफा गर्ने काम सकिएको छ भने स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पठाइने निर्वाचन सामग्री प्याकिङको काम भइरहेको कार्यालयले जानकारी दिएका छन् ।

बजेट नआउँदा मतदाता शिक्षा सञ्चालन गर्न सकिएको छैन, पन्थीले भने अघिल्लो निर्वाचनमा समयमै कार्यक्रम सञ्चालनका लागि बजेट आउँदा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका थियौँ, यसपालि अहिलेसम्म बजेट आएको छैन, त्यही भएर अहिलेसम्म मतदाता शिक्षा कार्यक्रम चलाउन नसकेको पन्थी बताएका छन् ।
धनुषामा अठार स्थानीय तह भने, कूल चार लाख ६७ हजार ३८८ मतदाता रहेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ३२३ मतदानस्थलमा ५९६ मतदान केन्द्र तोकिएको छ । दुई दिनअघि मात्र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका आएकाले अब बजेट पनि आउने उनले विश्वास व्यक्त गरेका छन् । निर्वाचन आयोगले तयार पारेको निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ मा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी निर्वाचत शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको बताए ।

स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालको प्रयोग, नागरिक समाज तथा गैरसरकारी संस्थामार्फत निर्वाचन कार्यक्रम सञ्चालन गर्ने, सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने तथा आम पहुँच वा समुदायमा आधारित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।