कोभिडविरुद्धको २३ लाख पेडियाट्रिक खोप आइपुग्यो काठमाडौंमा

काठमाडौं । ५ देखि ११ वर्षसम्मका बालबालिका लागि दिइने फाइजर बायोन्टेकको करिब २३ लाख कोभिडविरुद्धको पेडियाट्रिक खोप काठमाडौं आइपुगेको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले कोभ्याक्स सुविधामार्फत फाइजर बायोन्टेकको २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आइपुगेको जानकारी दिइएका छन् ।

सरकारले २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरेको थियो । ५ देखि ११ वर्ष उमेर समुहका ३९ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ । त्यसको लागि कोभ्याक्सले ८४ लाख डोज खोप अनुदानमा उपलव्ध गराउने भएको छ ।

कोभ्याक्स मार्फत गत असारमा पनि २२ लाख डोज खोप प्राप्त गरेको थियो । खोप माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले नेपालले कोल्ड चेनको क्षमता अनुसार खोप चरणवद्ध रुपमा ल्याएको डा। चौरासियाले बताए । आज प्राप्त खोप अभियान सञ्चालन गरिएका २७ जिल्लामा पहिलो मात्रा लगाउन छुटेका बालबालिका र दोस्रो डोजको लागि प्रयोग गरिने डा. चौरसियाले जानकारी दिए ।

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जानकारी दिइएको छ । सरकारले विद्यालयमै खोप केन्द्र तोकेको छ । देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी गरेको छ ।