मङ्सिर २२ देखि २८ गतेसम्म बिहुँकोटमा महोत्सव

काठमाडौं । काठेखोला गाउँपालिका–५ रामकोटधाममा यही मङ्सिर २२ देखि २८ गतेसम्म आयोजना हुने बिहुँकोट धार्मिक महोत्सवको तयारी गरिएको छ ।

कोरोना महामारीका कारण गत वर्ष रोकिएको उक्त महोत्सव यसपालि हुन लागेको हो । त्यहाँस्थित परमानन्द संस्कृत गुरुकुल पुनः सञ्चालनको उद्देश्य राखेर महोत्सव आयोजना गरिने महोत्सवका मूल सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजले जानकारी दिएको छ ।

अध्यक्ष देवीलाल कँडेलका अनुसार विगतको सशस्त्र द्वन्द्वताका रामकोटधामको गुरुकुल पाठशाला बन्द हुने पुगेको थियो । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजका पालामा उक्त गुरुकुल सञ्चालनमा आएको बताए ।

महोत्सवको व्यवस्थापकीय तयारीका लागि ३६ वटा विभाग गठन गरी कामको जिम्मेवारी दिइएको अध्यक्ष कँडेलले बताएका छन् ।

महोत्सवमा स्थानीय संस्कृतिको झाँकी प्रदर्शनी, हेलिकप्टरबाट पुष्ट वृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन सङ्कीर्तन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम हुने गर्दछ ।

महोत्सवमा धवलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको सहभागिता रहने छ । अध्यक्ष सुवेदीको भनाइ अनुसारमहोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च गर्ने बताए । उनले भने महोत्सव सुरु नहुँदै रु ६५ लाख जति जुटिसकेको छ, त्यति नै रकम सहयोगको प्रतिबद्धता आएको छ ।

गुरुकुल पुनः सञ्चालनको उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएकाले देशविदेशमा रहेका दाता र शुभेच्छुकबाट सहयोग आउने क्रम जारी छ साथै बिहुँकोट अन्तर्राष्ट्रिय समाजको सञ्जालमार्फत बढी मात्रामा सहयोग जुटिरहेको छ ।

संस्कृत पाठशाला पुनः सञ्चालन भएमा सनानत भाषा, संस्कृति र शिक्षाको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ । रामकोटधामका प्रधान संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक पर्यटनको प्रवद्र्धन र संस्कृत पाठशाला सञ्चालानार्थ आयोजित महोत्सवमा सबैले सहयोगको हातेमालो गर्नुपर्ने धारणा राखेका थिए ।

उनले वैदिक सनातन धर्म, संस्कृति जोगाउन सबै कस्सिनुपर्ने बेला आएको बताए। पछिल्लो समय धार्मिक गन्तव्यस्थलका रुपमा विकास भइरहेको रामकोटधामको प्रचारप्रसारमा पनि महोत्सव सहयोगी बन्ने उनकोभनाइ छ । रामकोटधाम परिसरमा कलात्मक त्रिपुरेश्वर महादेव मन्दिर र गण्डकी प्रदेशकै ठूलो शिवलिङ्गसमेत रहेको छ ।

यस्तै बालाचतुर्दशी, शिवरात्रिलगायत पर्वमा पनि धार्मिक अनुष्ठानहरु चल्छन् । वैदिक विधिद्वारा दैनिक पूजाआजा हुने भएकाले रामकोटधाम श्रद्धालुको रोजाइमा छ । सदरमुकाम बागलुङ बजारदेखि २० किमी सडक यात्रामा त्यहाँ पुग्न सकिने बताए ।