प्रदेश १ का भ्रष्टचारीलाई छाड्दिन

शेरधन राई
मुख्य मन्त्री
प्रदेश नं. १

प्रदेशको मुख्यमन्त्री त बन्नुभयो, तर मुख्यमन्त्रीको स्थायी कार्यालय नै कहाँ रहने भन्ने विवाद छ । अब त प्रष्ट भन्न मिल्छ होला नि, प्रदेशको राजधानी कहाँ बनाउनुहुन्छ ?

हो, हिजो मात्रै मैले मुख्यमन्त्री नियुक्त भएको प्रमाणपत्र बुझेको छु । आज शपथ लिँदैछु । जहाँसम्म स्थायी राजधानीको कुरा छ, हामी यो विषयमा प्रवेश गर्छाैं नै । र, निर्णयमा पुग्छौ नै । तर, यसको अन्तिम निर्णय गर्ने अधिकार प्रदेशसभाको दुईतिहाई बहुमतले राख्छ । हामी विषयमा प्रवेश गरेपछि उपयुक्त ढंगले राजधानी तोक्छौं ।

तपाई पार्टीभित्रै सर्वसम्मत दलको नेता चयन हुन सक्नुभएन र झिनो बहुमतले संसदीय दलको नेता छानिनुभएको छ । आफ्नै पार्टीका नेताले खुट्टा तान्ने डर कत्तिको छ ? यस्तो अवस्थामा आफ्ना विपक्षीहरुलाई कसरी समेट्नुहुन्छ ?

हो, सर्वसम्मत रुपमा दलको नेता चुन्ने कोशिस हामीले गर्‍यौं। तर, सकेनौं । त्यसैले लोकतान्त्रिक विधि र प्रकियाबाट म दलको नेतामा निर्वाचित भएको छु । मेरो खुट्टातान्नु पर्ने र डराउनुपर्ने कुनै कारण मैले देखेको छैन । मेरो सम्पूर्ण ध्यान सबैको भावनाको समान दृष्टिबाट प्रतिनिधित्व गर्ने, पार्टी प्रतिष्ठा र सिंगो देशको प्रतिष्ठालाई शीरमा राखेर प्रदेश नं १ लाई विकास र समृद्धिका हिसाबमा नमूना बनाउने कुरामा केन्द्रित हुनेछ ।

प्रदेश सरकार कस्तो बनाउने ? माओवादीले मन्त्रीहरु आफैं छानेर पठाउँछ कि तपाईको रोजाइअनुसार पठाउन आग्रह गर्नुहुन्छ ?

प्रदेश सरकार सकेसम्म सानो बनाउने सोच छ । किनभने हामी छरितो, चुस्त र गतिशील ढंगबाट काम गर्न चाहन्छौं । माओबादी केन्द्रले मन्त्रीहरु आफैं पठाउँछ, तर आजको युग, समय अनि विकास र समृद्धिको गतिमा फटाफट हिँड्न र काम गर्न सक्ने पठाउनुपर्छ ।

 

प्रदेश एकको मुख्य चुनौती के हो ? भ्रष्टाचार हो कि आपसमा खुट्टा तान्ने खुराफाती प्रवृति हो ? दुई खराबीमध्ये कुन बढी छ ?

मैले प्रदेश नं १ लाई भ्रष्ट्राचारमुक्त प्रदेश बनाउने कुरा गरिसकेको छु । मेरो नेतृत्वको सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको आधारमा सुशासन कायम गर्नका लागि कठोर कदम चाल्नेछ । यो सवालमा कसैसँग सम्झौता हुँदैन र कसैलाई छोड्ने काम हुनेछैन !

तपाईहरुले सोध्नुभएका दुई चुनौतीमध्ये भ्रष्टाचार नै मुख्य हो । र, खुराफाती प्रवृत्ति पनि रहनेछ, यसमा म सचेत छु ।

यो प्रदेशमा नेपाली कांग्रेस प्रतिपक्षमा छ । लिम्बुवान र मधेसी दलहरु पनि छन्, उनीहरुसँग कस्तो व्यवहार गर्नुहुन्छ ?

म सबै दलहरुलाई समेटेर समान व्यवहार र हार्दिकताका आधारमा समग्र प्रदेशको विकास र समृद्धिमा वहाँहरुलाई लिएर जान चाहन्छु ।

मुख्यमन्त्रीमा नियुक्त भइरहँदा प्रदेश १ का जनतालाई के सन्देश दिन चाहनुहुन्छ ?

पहिलो भ्रष्टाचार मुक्त प्रदेश, दोस्रो सामाजिक सुरक्षा र सम्मानको ग्यारेन्टी, सुशासन कायम, पूर्वाधार विकासमा तिब्र जोड, कृषि, पर्यटन, जलश्रोत, उद्योगलाई मुख्य आधार बनाएर प्रदेश नं १ लाई समृद्ध नमूना प्रदेश बनाउने मेरो एकमात्र लक्ष्य र उद्देश्य हो, यसमा साथ र सहभागिताका लागि सबैमा मेरो हार्दिक अपील छ ! -ध्रुव भट्टराई