मुर्मुरिनुसम्म मुर्मुरिए दश भाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जेठ २ गतेको संरचनाअनुसारको एमाले क्रियाशील नहुने खालको अभिव्यक्ति दिएपछि झन् १० बुँदे सहमति पक्षधर नेताहरू चिढिएका छन् ।

ओली र पोखरेलले प्रायःजसो सार्वजानिक मञ्चहरूमा पार्टी जेठ २ अघिको संरचनामा जान नसक्ने तर्क राख्दै आएका छन्।

पूर्व माधव नेपाल समूहमा रहेका एमाले सांसद नारायण खतिवडाले पनि १० बुँदे अक्षरस पालना गर्नुपर्ने मत राख्छन्। उनी भन्छन्,‘अहिले पार्टीमा १० बुँदे कार्यान्वयनको समस्या देखिएको छ। जुन हामीले १० बुँदेलाई पालना गर्नुपर्ने माग राखेका छौं, त्यहीअनुसार पार्टी अघि बढ्न जरुरी छ। नभए यसले पार्टीलाई अस्थिर बनाउँछ । जीवन्त पार्टीमा समस्या आउछ नै, त्यसलाई त्यहीअनुसार हल गर्नुपर्छ।’

त्यसो त एमाले पार्टी जेठ २ अघिको संरचनामा जाँदा सुदूरपश्चिम प्रदेशको ईन्चार्ज भीम रावल हुनुपर्ने हो । त्यस्तै बागमती प्रदेश र प्रदेश १ को ईन्चार्ज क्रमशः अष्टलक्ष्मी शाक्य र भीम आचार्य हुनुपर्ने हो । तर, एमालेको २८ फागुनमा बसेका एमाले बैठकले सुदूरपश्चिम प्रदेशको ईन्चार्ज लेखराज भट्ट, बागमतीमा रामबहादुर थापा बादल र प्रदेश १ मा सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिएको थियो। 

ती प्रदेशहरूका ईन्चार्ज यथावत राख्ने अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलको ईच्छाले पार्टीभित्र असन्तुष्टि मौलाएको हो। 

त्यतिमात्र नभएर केही जिल्लाहरूमा १० बुँदे कार्यान्वयन नभएको भन्दै विरोधका स्वरहरू उठिरहेका छन्।  

तत्कालीन माधव नेपाल समूहमा रहेका नेताहरू भने पार्टीमा अहिले सोही २७ असारमा भएको १० बुँदे सहमति पालना गर्नुपर्ने माग राखिरहेका छन्। उनीहरूले अन्तरपार्टी निर्देशिका अपानि–१२ लाई छलफलको एजेण्डा बनाउन माग राख्दै आएका छन्।