हामीलाई चुनावमा भोट माग्न एजेन्डाको कमी छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले सत्तामा भएको समयमा असाधारण काम गरेको दाबी गरेका छन्। विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको उदाहरण दिँदै ओलीले आफ्नो सरकारले असाधारण काम गरेको जिकिर गरे।

केन्द्रीय कमिटीको आइतबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको नेतृत्वमा भएका बेला असाधारण काम गरेको दाबी गरेका हुन्। 

राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त नै प्रस्तुत गरे। उनले धेरैले सिक्नुपर्ने गरि आफ्नो नेतृत्वको सरकारले काम गरेको बताए ।

अध्यक्ष ओलीले राम्रो काम गरेका कारण चुनावमा आफूहरुलाई कुनै समस्या नभएको जिकिरसमेत गरे। उनले चुनावमा जाने एजण्डा के बनाउने भन्ने अवस्था आफ्नो पार्टीलाई नभएको बताए। 

एकपटक प्रतिपक्षमा पुग्यौं भन्दैमा आत्तिनु नपर्ने बताउँदै ओलीले फेरि सम्हालिएर अघि बढ्न सक्ने प्रतिवद्धता जनाए।

ओलीले भने,‘एकपटक प्रतिपक्षमा पुग्यौं भन्दैमा किन आत्तिने? हामी फेरि सम्हालिएर अघि बढ्छौं, भोट माग्न जाने कुरा छ, हामीले असाधारण काम गरेका छौं, त्यहि कुरा भन्न सक्नु पर्छ ।’

ओलीले राजनीतिक प्रतिवेदनमा भविष्यलाई निर्दिष्ट विचार र गन्तव्य रहेको बताए। अहिले पार्टीको ध्यान महाधिवेशन र संगठन निर्माणमा हुनुपर्ने उनले धारणा राखे।