दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटका लागि तोकेको थियो ।

समितिका अनुसार साइतको समय तोकिए पनि शुभ साइतपश्चात त्यसदिनभर जुनकुनै समयमा पनि टीका ग्रहण गर्नु उचित हुन्छ । नवरात्रका नौ दिनसम्म विभिन्न स्वरुपका देवीहरुको पूजा गरिन्छ । दशौं दिन अर्थात् दशमी तिथिमा देवीपूजाको प्रसाद स्वरुप टीका, जमरा ग्रहण गरिन्छ । देशका विभिन्न क्षेत्रहरुमा टीका ग्रहणको क्रम पूर्णिमा तिथिसम्म कायम रहन्छ ।

आफूभन्दा ठूलाका हातबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्नु दशैं पर्वको मौलिकता हो । बदलिँदो सांस्कृतिक मान्यता अनुसार आजभोलि सेतो टीकाको प्रयोग समेत गरिन थालेको छ । आसुरी शक्तिमाथि सत्यको विजय भएको पर्वका रुपमा लिइने भएकाले दशैंले व्यक्तिभित्र भएको अहम् र दानवी सोचलाई सकारात्मक चिन्तनले त्याग्नु पर्ने प्रेरणा दिन्छ ।

दशैंमा देवीका विभिन्न रुपको पूजा गर्दै शक्ति उपासना गरिने भएकाले यसले नारीशक्तिको महिमा उजागर गर्नुका साथै सात्विक जीवनशैलीलाई पनि प्राथमिकता दिएको छ । नेपाली समाजमा मनाइने जुनकुनै पर्व विशेषले वैज्ञानिक महत्व बोक्नुका साथै मर्यादित समाज निर्माणको कल्पना गरेका छन् । पर्वमा निहित आन्तरिक विशेषतालाई विश्लेषण गर्दै समय र समाज अनुकुल तिनको अनुशरण गर्न सके संस्कृति हस्तान्तरण हुनुका साथै यिनले जीवन्तता प्राप्त गर्दछन् ।

दशैंका लागि शुभ साईत तोकिएको भएपनि हाम्रो परम्परा, शास्त्र र विधि अनुसार नवदुर्गाको प्रसाद भएकाले पूर्णिमासम्म टीका ग्रहण गरिने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताउनु भएको छ ।