देउवा भन्छन्, एमसीसी हुबहु पास हुन्छ

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट हुबहु पास गर्नुपर्ने औंल्याएका छन्।

कैलाली सदरमुकाम धनगढीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ नभएको बताएका हुन्।

‘एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ छैन’, उनले भने, ‘हुबहु पास हुन्छ।’

उनले काठमाडौँ पुगेपछि पछिसम्मलाई हुनेगरी तत्काल राहत र पुनःस्थापना तथा उद्धारका कार्यक्रम ल्याइने जानकारी दिए। प्रधानमन्त्री देउवाले आफू बाढी पहिरोले पु¥याएको क्षति अवलोकन गर्न देशव्यापी दौडाहामा जानेसमेत बताए। ‘पहिले उद्धार अनि पुनःस्थापना तथा राहतको कार्य अघि बढाउँछौं’, उनले भने, ‘पछि पुनर्निर्माण र सुरक्षित बस्ती विकासमा काम गर्छौं।’

उनले नेपालमा पूर्वतयारीको कमीले गर्दा प्राकृतिक विपद्मा धेरै क्षति भोग्नुपर्ने अवस्थाले निरन्तरता पाउँदै आएको औंल्याए। ‘कहिलेकाहीं आशा नगरेका कुरा अचानक भइदिँदा हामी केही गर्न सक्दैनौं। तैपनि सदाका लागि हामी पूर्वतयारीको अवस्थामा रहनुपर्छ’, प्रम देउवाले भने, ‘भविष्यमा जे पनि हुनसक्छ भनेर सधैँ पूर्वतयारीमा रहनुपर्छ। यसमा सबैको ध्यान जानुपर्छ।’