न्यायालय विवादित भएपछि सर्वोच्चका न्यायाधीशहरुको आन्तरिक छलफल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आन्तरिक छलफल गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकका न्यायाधीशहरुले आइतबार दिउँसो छलफल गरेका हुन्।

प्रधानन्यायाधीशसँग जोडिएर एकपछि अर्को विवाद सार्वजनिक हुँदै गएको, नेपाल बार र सर्वोच्च बारले भेट गरेपछि सोमबारका लागि फुलकोर्टको बैठक बोलाएको अवस्थामा न्यायाधीशहरुले आपसी छलफल गरेको स्रोतले जानकारी दियो।

छलफलमा दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, नहकुल सुवेदीसहितका न्यायाधीश सहभागी छन्। छलफलमा न्यायालयको बिग्रदो छवि, प्रधानन्यायाधीशको क्रियाकलापबारे कुराकानी भएको बुझिएको छ।

यसअघि शुक्रबार पनि न्यायाधीश हरिकृष्ण कार्कीको चेम्बरमा भेला भएर न्यायाधीशहरुले कुराकानी गरेका थिए।

आइतबार नेपाल बार प्रतिनिधिले प्रधानन्यायाधीश राणासँग भेट गरेपछि उनले सोमबार बार पदाधिकारीसहितको बैठक बोलाएका छन्।