पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई भेटेका हुन् ।

असोज २६ को बिहान साढे १० बजे पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निवास पुगेका जबरा २७ गते दिउँसो ३ बजे कार्की निवास पुगेका थिए । २८ को बिहान ११ बजे रायमाझी र दिउँसो ३ बजे शर्माकहाँ पुगेका थिए ।

एकपछि अर्को विवादास्पद कदमका कारण चुनौतीले घेरिएका जबराले सहानुभूति खोज्न अग्रजहरूलाई भेटेको कानुन व्यवसायीहरूले बताएका छन् । चार पूर्वप्रधानन्यायाधीशलाई (वारेस पनि नराखी) आफैं हाजिर हुन आदेश दिने न्यायाधीश मनोजकुमार शर्मालाई नै लिएर जबरा घरघरमा गएका हुन् ।