About Us

प्रजातन्त्र प्राप्ति पछि फस्टाउँदै गएको मिसन पत्रकारिता लोकतन्त्र हुँदै गणतन्त्रसम्म आईपुग्दा जनताको आवाजका रुपमा स्थापित हुँदै गईरहेको छ । बढ्दै गईरहेको प्रविधिसँगै सञ्चार माध्यम पनि प्रविधि मैत्री बन्दै गईरहेको छ ।

विगतमा निकै कष्टकर रुपमा छापा माध्यमबाट गरिने पत्रकारितालाई अहिले डिजिटल माध्यमले निकै नै सहज बनाएको देखिन्छ । सूचना वा समाचार जानकारी लिनका लागि भोली पल्ट पत्रिका हातमा नपरुञ्जेल कुर्न पर्ने अवस्थाको अन्त्य भएर कार्यक्रम हुँदा हुँदै प्रत्यक्ष हेर्न, सुन्न र पढ्न पाउने अवस्था प्रविधिले जुराईदिएको छ ।

यद्यपी, पछिल्लो समय डिजिटल सञ्चार माध्यमबाट समाचार संप्रेषणका लागि अगाडि हुने नाममा गलत समाचारहरु पनि प्रकाशन भईरहेको देख्न सकिन्छ । जसले गर्दा विगतमा पत्रकारिता क्षेत्रको जुन सम्मान थियो आज खस्कँदै गएको मात्र होइन सञ्चारकर्मीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । समाचार वा विचार जनताको पक्षमा हुनु पर्ने थियो ।

सामाजिक रुपान्तरणका लागि सञ्चार माध्यम विश्वासिलो बन्न सक्नु पर्ने थियो । सुशासनका लागि र भ्रष्टाचार न्यूनिकरण गर्ने काममा तेश्रो आँखामा रुपमा स्थापित हुनु पर्ने थियो । तर त्यसो हुन नसकेको हो कि भन्ने चर्चा वहश शुरु भएको छ । पत्रकारिता पर्चाकारिता तर्फ उन्मूख भईरहेको भन्ने आरोप पनि लागिरहेको छ ।

तसर्थ, डिजिटल पत्रिकाका रुपमा इकालोपाटी डटकम प्रकाशनमा ल्याउनुको कारण भनेको यसलाई जनताको साझा आवाज बोल्ने स्थानका रुपमा स्थापित गर्नु हो । आवाज विहीनहरुको आवाज, सुशासन एवं भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीका विपक्षमा, जनसेवाको वकालत गर्ने माध्यम बनाउनु हो ।

कुनै राजनीतिक दल वा निकट रहेर होइन देश र जनताको पक्षमा वकालत गर्ने जिम्मेवारी काँधमा वोकेर हिड्ने काम गर्ने छ इकालोपाटी डटकमले । हामी भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने अभियानमा जनताका तर्फबाट वकालत गरिरहने छौं ।