‘नागरिकता प्राप्त गर्ने अधिकारबाट कोही पनि वञ्चित हुनुहुँदैन’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९’ माथिको सैद्धान्तिक छलफल जारी छ । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैर नेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुनेमा जोड दिए ।

पुष्पा भुसाल गौतमले नागरिकता विधेयक पारित भएपछि लामो समयदेखि नागरिकता प्राप्त गर्न नसकेका सन्ततिले नागरिकता प्राप्त गर्ने बताए । नागरिकता सरल ढङ्गबाट प्राप्त गर्ने वातावरण बनाउन उहाँले सरकारको ध्यानाकर्षण गराउ । सांसद जयकुमार राईले आमाको नामबाट नागरिकता प्राप्त गर्ने अधिकार खोजी गरिरहँदा कैयौँ नेपालीले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै नागरिकता प्राप्त गर्ने विषयलाई नागरिकको अधिकारका रुपमा लिइनुपर्नेमा जोड दिए ।

सांसद नारायणप्रसाद मरासिनीले गैरआवासीय नेपालीले आर्थिक, सामाजिक र सांस्कृृतिक दृष्टिले नागरिकता पाउने विधेयकको बाटो सकारात्मक भएको बताएका छन् । उनले सहजरुपमा नागरिकता प्राप्त गर्ने विषयमा सरकारले थप पहल गर्नुपर्ने आवश्यकता रहेको बताए । बिनाकारण नागरिकताबाट वञ्चित गराइएका नागरिकलाई तत्काल क्षतिपूर्ति दिने विषयमा पनि सरकारले सोच्नुपर्ने उनको भनाइ थियो ।

सांसद वीनाकुमारी श्रेष्ठले नागरिकताजस्तो आधारभूत अधिकार प्राप्त गर्न नसकिएको अवस्थामा नागरिकमा सामाजिक र मनोवैज्ञानिक असर परेको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि विधेयकमा कुनै व्यवस्था नभएको उल्लेख गर्दै उनले विधेयकले लैङ्गिकरुपमा विभेद गरेको गुनासो गरेका छन् । 

सांसद पवित्रा निरौला खरेलले नागरिकता विधेयक नआउँदा नेपालीका छोराछोरी शिक्षा, रोजगारीलगायत अधिकारबाट वञ्चित भएका छन् भन्नुभयो । उहाँले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने विषय विधेयकमा राखिनु सकारात्मक भएको बताए । सांसद बिन्दा पाण्डेले यो विधेयक संविधान उल्लेखित नागरिकताको प्रावधानसँग मेल नखाएको तथा विधेयक समानताको हकविपरीत रहेको गुनासो गरेका छन् । उनले वैवाहिक अङ्गीकृत नागरिकतासम्बन्धी प्रावधानमा पारस्परिक समानताको प्रचलन र लैङ्गिक समानताको पक्षमा मुलुकको हितलाई शिरमा राखेर विधेयक पारित गर्न आग्रह गरेका छन् ।