दश वस्तुको आयात प्रतिबन्ध निरन्तर

काठमाडौँ । सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा औद्योगिक कच्चा पदार्थबाहेक, चुरोट तथा सुर्तीजन्य वस्तु औद्योगिक कच्चा पदार्थबाहेक, हीरा औद्योगिक कच्चा पदार्थबाहेक, ३ सय अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रङ्गीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास आयात प्रतिबन्धलाई निरन्तरता दिएकोे हो ।

मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । मन्त्रालयले निकासी पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड (ञं) अनुसार प्रतिबन्ध लगाइएको जनाएको छ ।

यसअघि ६ सय अमेरिकी डलरभन्दा महँगा फोन आयातमा रोक लगाइएकामा त्यसलाई खुकुलो बनाउँदै ३ सय अमेरिकी डलरभन्दा माथिका फोन आयातमा रोक लगाइएको छ । यसैगरी यसअघि २ सय ५० सिसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएकामा त्यसलाई कडाइ गर्दै १ सय ५० सिसीमाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएको हो ।