तेह्र वर्षपछि गाउँमा रिङ्रोडसहितको सडक सञ्जाल

रामपुर, पाल्पा, ४ पुस  ।  निर्माण कार्य शुरु गरिएको १३ वर्षपछि रिङरोडसहितको सडक सञ्जाल गाउँमा जोडिएको छ ।
रामपुर आर्यभञ्ज्याङ सडकखण्डअन्तर्गत साविक गल्धाको बेलडाँडाबाट मित्याल, झिरुवास, सहलकोट हुँदै गाँडाकोट, भलायटार, गण्डकीढिक हुँदै रामपुरको बेझाँड बजारसँग जोड्ने रिङ््रोडको अवधारणासहित शुरुवात भएको सडकले अहिले गाउँ गाउँ जोडिएको हो ।
तत्कालीन समयमा गाँडाकोटको भलायटार र गल्धाको बेलडाँडादेखि मित्याल रुक्से भञ्ज्याङसम्म जसोतसो सडक पुगे पनि अन्य स्थानमा सडक सञ्जाल जोडिन सकेको थिएन । पूर्वी पाल्पाका साविक गाँडाकोट, सहलकोट, झिरुवास र मित्याल गाविस जोड्ने सडक रिङ्रोडसहित जोडिएपछि यस क्षेत्रका स्थानीवासीमा खुसियाली छाएको छ ।
विसं २०६१ मा जिविस पाल्पा र हेल्भेटास नेपालको आर्थिक सहयोगमा स्थानीयवासीको जनश्रमदान र न्यून ज्यालामा मित्यालबाट झिरुवास–७ को धार्केसिंसम्मको नौ किमी सडक निर्माण, गाँडाकोटको भलायटारदेखि सहलकोटको आनन्दीसम्मको १३ किमी सडक र सहलकोटको आनन्दीदेखि हात्ती भञ्ज्याङसम्मको पाँच किमी सडक निर्माण कार्य शुरु भएको थियो ।
विसं २०६३ मा निर्माण सम्पन्न गर्ने सहमति भए पनि तत्कालीन समयमा द्वन्द्व र आन्दोलनका कारण झिरुवासको धार्केसिंसम्म २०६४ मा र भलायटारदेखि सहलकोटको हात्ती भञ्ज्याङसम्म २०६५ मा सडक निर्माण सम्पन्न भएको थियो ।
बाँकी सडकखण्डअन्तर्गत सहलकोटको लिन्दीदेखि झिरुवासको धार्केसिंसम्मको सडक रामपुर झ्यालबास सडकखण्ड निर्माणका क्रममा जोडिए पनि सहलकोटको हात्तीभञ्ज्याङदेखि लिन्दीसम्मको साढे दुई किमी सडक नजोडिँदा रिङ्रोडको मान्यता पाउन सकेको थिएन ।
द्वन्द्वको समय भएकाले बीचमै सडक निर्माण कार्य अलपत्र अवस्थामा परेको वडा नं २ का वडा अध्यक्ष पूर्णबहादुर वाकावलले बताउनुभयो । “काम नियमित गर्न पाएको भए पहिले नै सडक जोडिन्थ्यो, दाताले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए तर द्वन्द्वले नियमित काम गर्न नपाउँदा परियोजना फेजआउट भएर गयो”, वाकावलले भन्नुभयो ।
बाँकी साढे दुई किमी सडक निर्माण कार्य आव २०७१÷७२ बाट शुरु भएको थियो । संसद् विकास कोष र जिविसको रु १५ लाख, २०७३÷७४ मा संसद् विकास कोषको रु १९ लाख र जिविस पाल्पाको रु पाँच लाखबाट साढे एक किमीको मार्ग खोलिएको थियो ।