अध्यक्ष तिमिल्सिनाद्वारा टोकियोस्थित हिमालयन इन्टरनेशनल एकेडेमीको अवलोकन

काठमाडौं । नेपाल महोत्सवमा सहभागी हुन जापान पुगेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले टोकियोस्थित हिमालयन इन्टरनेशनल एकेडेमीको अवलोकन भ्रमण गरेका छन् ।

हिजो अध्यक्ष तिमिल्सिनाले विद्यालयका प्रवर्द्धक, शिक्षक र व्यवस्थापन टोलीसँग विद्यालयमा हुने पठनपाठन र अतिरिक्त क्रियाकलापको अवलोकन गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक कालु सिंह मेहताका अनुसार अध्यक्ष तिमिल्सिनाले विद्यालयको पठनपाठन गतिविधि र विद्यालयले भोग्दै आएको समस्याबारे जानकारी लिइएका थिए । सोही अवसरमा अध्यक्ष तिमिल्सिनाले विद्यालय व्यवस्थापनसँग जापानमा नेपाली भाषा, संस्कृति र परम्पराको प्रवद्र्धन गर्ने विषयमासमेत छलफल गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले विद्यालयको गतिविधिको प्रशंसा गर्दै विद्यालयका विद्यार्थीले स्कुलमा शिक्षा प्राप्त गरे पश्चात् जापान र विश्वभर नेपालको सांस्कृतिक दूत बन्ने विश्वास व्यक्त गरेका छन् । साथैस उहनले भविष्यमा विद्यालयले सामना गर्न सक्ने कुनै पनि चुनौतीलाई समाधान गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।