समानुपातिक मतपरिणामलाई केन्द्रिकृत गरिँदै

काठमाडौँ,  ४ पुस । निर्वाचन आयोगमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० वटै निर्वाचन क्षेत्रको मतपरिणामलाई एकमुष्टरुपमा केन्द्रीकृत गर्ने कार्य गरिरहेको छ ।
प्रतिनिधिसभाको मतपरिणामलाई एक ठाउँमा र सातवटा प्रदेशका सातवटै ठाउँमा एकीकृत गरी ती तथ्याङ्कहरुलाई रुजु गर्ने कार्य जारी रहेको र केही दिनभित्रै दलहरुले प्राप्त गर्ने सिटको बाँडबाँड गरिने आयोगले जनाएको छ ।
प्रतिनिधि सभाको १६५ निर्वाचन र प्रदेशसभाको ३३० वटै निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले हस्ताक्षर गरेको लिखित आधिकारिक कागजातका आधारमा मतपरिणामलाई केन्द्रीय स्तरमा एकमुष्ट बनाउने कार्य भइरहेको छ ।
प्रतिनिधिसभातर्फ ४९ राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारहरुको बन्दसूची आयोगमा बुझाएका छन् । त्यसैगरी, प्रदेशसभातर्फ ५३ वटा राजनीतिक दलले उम्मेदवारहरुको बन्दसूची बुझाएका छन् ।
सबै निर्वाचन क्षेत्रबाट प्राप्त मत परिणामलाई रुजु गर्ने कार्य सकेपछि प्रतिनिधिसभातर्फ तीन प्रतिशत वा सोभन्दा माथि मत प्राप्त गर्ने र त्योभन्दा घटी मत प्राप्त गर्ने दलको सूची तयार गरिने छ । तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलहरुको सूचीलाई एकातिर राखी तीन प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने दलको सिट बाँडफाँड प्रक्रिया अगाडि बढाइने जानकारी आयोगले दिएको छ ।
यसैगरी, सातवटै प्रदेशको अलग–अलग प्रादेशिक मतपरिणामलाई एकीकृत गरी डेढ (१.५) प्रतिशत वा सोभन्दा बढी र कम पाउने दलहरूको सूची बनाइने छ । तोकिएको मतप्रतिशतभन्दा बढी मत प्राप्त गर्ने दलहरूको मतलाई ‘सेन्ट लग’ विधिबाट सिट विभाजन गरी कुन राजनीतिक दलले कति सिट सङख्या प्राप्त गरेको विवरण तयार भएपछि सो विवरणलाई आयोगको बैठकमा प्रस्तुत गरी निर्णय हुने जानकारी आयोगले दिएको छ ।
आयोगको निर्णयपछि दलहरुले प्राप्त गरेको सिट सङख्या सम्बन्धित राजनीतिक दललाई पठाइने छ । राजनीतिक दलले संविधान र कानुनले तोके अनुसारको समावेशी पक्षलाई पालना गरी समानुपातिक तर्फको बन्द सूचीमा रहेका उम्मेदवारको नाम आयोगलाई पठाउनुपर्ने छ । दलले त्यस प्रयोजनका लागि सात दिनको समय पाउने छन् ।
समानुपातिक निर्वाचन इकाइले तयार पारेको तथ्य र तथ्याङ्कलाई आयोग बैठकले दललाई सिट सङख्या बुझाउने, दलहरुबाट बन्दसूचीमा रहेका उम्मेदवारको विवरण प्राप्त गर्ने, त्यसमा नमिलेको भए पुनः सच्याउनुपर्ने र सो पश्चात् दलबाट प्राप्त अन्तिम नामलाई निर्वाचित उम्मेदवारको रुपमा घोषणा गरिने छ ।