डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान

काठमाडौँ । काठमाडौं महानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ । जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले डेङ्गु नियन्त्रणका लागि निदानात्मक, उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरेका बताएका छन् ।

महानगरले भदौ १३ गते सबै वडा क्लिनिकका इञ्चार्जहरुलाई बोलाएर डेङ्गु रोकथाम र नियन्त्रणका लागि प्रशिक्षण सञ्चालन गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् भदौ १४ गतेबाट जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेविका र स्थानीय संघसंस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रियात्मक प्रशिक्षण गरेर घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

घरदैलो कार्यक्रममा पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको सरसफाइ गर्न सिकाएका छन् । डेङ्गु एडिज जातको सङ्क्रमित लामखुट्टेले मान्छेलाई सार्ने भएकाले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हो ।

सोमबारबाट प्रयोगशाला भएका वडाहरुमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु हुँदैछ । यसरी परीक्षण सुरु हुने ठाउँहरु रामघाट स्वास्थ्य केन्द्र, वडा १९, २६ र ३० का वडा क्लिनिक रहेका छन् ।