मकवानपुर र रूकुम पूर्व ‍सवारी दुर्घटना : १२ को मृत्यु

काठमाडौं । मकवानपुर रूकुम पूर्व स् मकवानपुर र रूकुम पूर्वमा बिहीबार भएका दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन्। मकवानपुर भीमफेदीमा सात र रूकुम पूर्व भूमेमा पाँच जनाको मृत्यु भएको हो। ३८ जना घाइते भएका छन्।

काठमाडौं उपत्यकामा चल्ने बा३ख ७८५८ नम्बरको मिनीबस ३३ यात्रु लिएर बल्खुबाट बिहीबार करिब ११ बजे फर्पिङ–कुलेखानीको बाटो हुँदै हेटौंडातर्फ अघि बढ्यो। उक्त बसका लागि हेटौंडा–कुलेखानी–काठमाडौं सडक नयाँ थियो। यो बाटोको रुट अनुमति पनि थिएन। तर, आधा दर्जन प्रहरी चेकपोस्ट पार गर्दै भीमफेदी–६ स्थित जुरी खेत आइपुगेको बसले यात्रुले गन्तव्यसम्म सकुशल पुर्‍याउन सकेन।

एघार घुम्तीस्थित ओरालोमा सडकबाट करिब ६० मिटर तल खस्दा सात जनाको ज्यान गएको हो। ६ जनाको घटनास्थलमै र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीमा उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले बताए। उनका अनुसार घटनास्थलमै मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत नुवाकोटका २६ वर्षीय रघुराज न्यौपाने र बाराको झिटकैया–४ का ३३ वर्षीय अन्दुलाहा मियाँ ठकुराई छन्। यो समाचार तयार पार्दा अन्य मृतकको सनाखत हुन बाँकी छ।

दुर्घटनामा २६ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। २३ जनाको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ। गम्भीर घाइते तीन जनालाई भरतपुर पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।

घुम्तीमा मोड्ने क्रममा ‘ब्रेक’ नलागेपछि बस सडकबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए।

बसका सहयोगी काभ्रेका हरि भुजेलका अनुसार बस ३२ यात्रु लिएर वीरगन्जतर्फ जाँदै थियो। ‘यात्रु र हामीले देउरालीमा आएर खाना खायौं। त्यहाँबाट अघि बढेर जुरिखेतमा पुगेपछि बसको ब्रेक लागेन’, भुजेलले भने, ‘त्यसपछि के भयो थाहा भएन।’ उनका अनुसार बसका चालक विष्णु स्याङ्तान हुन्। तर, प्रहरीले चालक पहिचान गर्न सकेको छैन।

मकवानपुर जिल्ला प्रहरी प्रमुख गौतमले दुर्घटना र बसको सम्बन्धमा अनुसन्धान सुरु गरिएको बताए। ‘बस यो सडकमा कसरी गुड्यो ? घटना कसरी भयो रु अनुसन्धान सुरु गरेका छौं’, उनले भने, ‘हाम्रो बढी ध्यान घाइतेको उपचारमा केन्द्रित छ।’ यो सडक कुलेखानी जलविद्युत् आयोजनाले आयोजना निर्माणको समयमा सामान ढुवानी गर्न बनाएको हो। साँघुरो सडकमा दैनिक १ हजारभन्दा बढी यात्रुवाहक र निजी साना सवारी सञ्चालन हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।

साँघुरो र उकालो ओरालोका कारण यो सडकमा बर्सेनि दर्जनौ सवारी दुर्घटना हुने गरेको छ।

रुकुम पूर्वमा ५ को मृत्यु

रुकुम पूर्वको भूमे गाउँपालिका–३ स्थित क्याङसी बगरनजिकै बिहीबार दिउँसो बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। काठमाडौंबाट बुधबार छुटेको ग.१ख ९१०९ नम्बरको उक्त बस रुकुमकोट आउँदै थियो। १२ यात्रु घाइते भएको रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डागीले बताए।

मृत्यु हुनेमा भूमे गाउँपालिका–५ का २३ वर्षका बुद्धिमान बुढा, पुथा उत्तरगंगा गाउँपालिका–८ का ३५ वर्षका पूर्णबहादुर बुढा, रामेछापका बस चालक लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका ६ की ४० वर्षकी लक्ष्मी खड्का र उनका दुई वर्षका छोरा सिजन रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ४ जनालाई उपचारका लागि कोहलपुर पठाइएको छ। बाँकीको उपचार जिल्ला अस्पताल रुकुम पूर्वमा भइरहेको छ।

मध्यपहाडी लोकमार्ग हुँदै आएको बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो। साँघुरो सडक र लामो यात्राले चालक थकित भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। अन्नपूर्णपोष्टबाट