सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् ।

उनी कञ्चनपुरको महेन्द्रनगर नगरपालिका निवासी हुन् । उनी हालै सम्पन्न निर्वाचनमा एमालेको समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।यसअघि प्रदेश प्रमुख देवराज जोशीले दिएको समय घर्किन थोरै समय बाँकी रहँदा रावलले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेश गरेका थिए ।

उनलाई नेकपा माओवादी केन्द्र का ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका १ गरी २९ जना सदस्यको समर्थन रहेको बताएका छन। त्रिपन्न सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ जना आवश्यक रहेको हुन्छ ।

प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न प्रदेश कार्यालयमा पुगेको प्रदेशसभा सदस्यको टोलीमा एमालेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टसहितका प्रदेशसभाका सदस्य रहेका छन् ।

प्रदेश प्रमुख जोशीले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न १ हप्ताको समय दिएका थिए । केन्द्रमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको र प्रदेशसभाको सभामुख माओवादीले पाउने सहमति केन्द्रिय सत्ता गठबन्धनमा भएको थियो ।

सोही सहमतिअनुसार माओवादी केन्द्रका भीमबहादुर भण्डारीले सभामुख पदका लागि आज उम्मेदवारी दर्ता गराएका साथै सभामुख पदमै नेपाली कांग्रेसका मानबहादुर रावलले पनि उम्मेदवारी दर्ता गराएका छन् । आजै सभामुख पदको उम्मेदवारीको मनोनयन दर्ता गर्ने कार्यतालिका थियो ।

मुख्यमन्त्री नियुक्तिका लागि बहुमत सदस्यको समर्थन जुटाउन सकस भएको थियो । अपराह्न ४ः३० बजेसम्म पनि कुनै निर्णय नगरेको नागरिक उन्मुक्ति पार्टीले भने तोकिएको समय घर्किन थोरै समय बाँकी रहँदा रावलका पक्षमा बहुमत पु¥याउन समर्थन दिएका थिए ।

सरकार गठनमा निर्णायक नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका बन्दी रिहाइ नगरिएसम्म सरकारमा सहभागी नहुने र सरकार गठनमा समेत सहयोग नगर्ने अडान राख्दै आएका थिए ।