सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । आज सुनको मूल्यमा  नयाँ रेकर्ड कायम गरेको छ । सोमबार एक हजारले बढेर तोलामा १ लाख ६ हजार ३ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिएका छन् ।

यसअघि २०७८ साल फागुन २५ मा सुनको मूल्य सबैभन्दा बढी प्रतितोला १ लाख ५ हजार पाँच पुगेको थियो । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३ सयमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ८ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर १ हजार ३ सय ६५ कायमा किनबेच भइरहेको छ ।

महासङ्घ अध्यक्ष शाक्यले रुस र युक्रेनबीचको युद्ध तथा विभिन्न देशका केन्द्रीय बैंकहरुले सुन मौज्दात बढाउन थालेपछि सुनको मूल्य बढेको बताए । महासङ्घले हाल दैनिक ३० देखि ३५ केजी सुन पाउनुपर्ने माग गर्दै आएको छ । अध्यक्ष शाक्यले भने, “हाल दैनिक १० केजी सुन मात्रै दिइएको छ, जुन अपर्याप्त छ, अहिलेको अवस्था हेर्दा दैनिक कम्तीमा ३० देखि ३५ केजी सुन आवश्यक छ ।”