क्यालिफोर्निया राज्यमा गोली चल्दा ७ को मृत्यु

काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यमा गोली चल्दा ७ जनाको मृत्यु भएको छ । दुई दिन अघि मात्र क्यालिफोर्नियाको मन्टरे पार्कमा गोली लागेर ११ जनाको मृत्यु भएको थियो ।

सोमबार फेरि हाफ मुन वे शहरमा भएको गोलीकाण्डमा ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । गोली प्रहारबाट खेतमा काम गर्ने चिनियाँ मजदुरहरु मारिएका छन् । हाफ मुन वे एसियाली मूलका मानिसहरुको बाहुल्य भएको क्षेत्रको रुपमा चिनिन्छ ।

हत्यामा संलग्न भएको भन्दै प्रहरीले ६७ वर्षीय झाओ चुन्ली भन्ने पुरुषलाई पक्राउ गरेको छ । उनी गाडीमा प्रहरी स्टेसनतर्फ गइरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीले भुइँमा लडाएर नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको छ ।

बीबीसीका अनुसार उनले हत्या गरेका ४ व्यक्तिको शव च्याउ फार्ममा फेला परेका थिए । अरु तीनवटा शव त्यसको नजिकै फेला परेका थिए । आठ जना घाइतेको अवस्था गम्भीर छ ।