अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प आज अदालतमा उपस्थित हुने, नेपालमा कहिले होला ?

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार न्युयोर्क अदालतमा बयान दिने भएका छन् । सोमबार राति न्युयोर्कस्थित ट्रम्प टावर पुगेका ट्रम्पले न्युयोर्कमा केही आपराधिक आरोपहरूको सामना गर्नु पर्ने भएको छ । सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन ताका पोर्न स्टार स्टर्मी ड्यानियल्सलाई अवैध रकम दिएको र उक्त भुक्तानीलाई ब्यापारी कारोबारमा देखाएको आरोपमा ट्रम्पमाथि छानविन भइरहेको छ ।

७६ वर्षीय ट्रम्प आपराधिक मुद्दाको सामना गर्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति भएका छन् । तर उनले भने कुनै गलत काम नगरेको दावी गर्दै आएका छन् । मंगलबार पुलिस र अदालतका अधिकारीहरूका साथै सेक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई तल्लो म्यानहट्टन अदालत परिसरमा लैजाने तयारी गरेका छन्।

उनले अदालतमा उपस्थित हुनुअघि जिल्ला अधिवक्ता एल्भिन ब्रागको कार्यालयमा आत्मसमर्पण गर्ने जनाइएको छ । त्यसपछि मात्र उहाँ न्यायाधीश समक्ष उपस्थित हुने हुने छन् । पूर्वराष्ट्रपति ट्रम्प जमानतमा रिहा हुने र मंगलबार साँझ आफ्नो निवास फ्लोरिडा फर्कने अनुमान गरिएको छ । ट्रम्पबाट नेपालको न्यायालय पनि धेरै सिक्नु पर्ने देखिएको छ । नेपालमा आपराधिक क्रियाकलापमा संलग्न धेरै व्यक्तिहरु राज्यको उच्च ओहोदामा बसिरहेका छन् ।