पत्रकार बनेर आएका ३ जनाद्वारा पूर्वभारतीय नेताको हत्या

काठमाडौँ । गएराति पूर्वभारतीय राजनीतिज्ञ र उनका भाइको गोली हानेर हत्या भएको छ । पत्रकार बनेर आएका ३ जना किशोरले प्रहरी घेरामै उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद उनका भाइ असरफलाई गोली हानेर हत्या गरेका हुन् ।

अस्पतालमा स्वास्थ्य परीक्षणका लागि ल्याइएका अहमद दाजुभाइ अस्पताल बाहिर पत्रकारसँग कुराकानी गरिरहेका बेला पत्रकारकैबीचमा रहेका ती ३ जनाले उनीहरूलाई टाउकोमा गोली हानेका थिए ।

पूर्वसांसद् राजु पालको हत्यामा दोषी ठहरिएका उनीहरू साबरमती जेलमा कैद भुक्तान गरिरहेका थिए । आक्रमणकारी तिनैजनालाई पक्राउ गरिएको छ ।

अतिक अहमदविरुद्ध विगत दुई दशकमा अपहरण, हत्या र जवरजस्ती करणीलगायत दर्जनौँ मुद्दा दर्ता भएका थिए । स्थानीय अदालतले उनलाई अपरहण मुद्दामा गत मार्चमा जन्मकैदको सजाय सुनाएको थियो । अतिकले आफूलाई प्ररहीबाट असुरक्षा रहेको बताउँदै आएका थिए ।

अतिक र असरफलाई गोली हानेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । दुई दिनअघि अतिक अहमदका छोरा असद तथा उनीसँगै रहेका उनका साथी गुलाम मोहम्मद झाँसीमा भएको प्रहरी कारबाहीमा मारिएका थिए । उनीहरूविरुद्ध उत्तर प्रदेश प्रहरीको विशेष कार्यदलले कारबाही गरेको थियो ।

मुख्यमन्त्री योगी आदित्य नाथले उक्त घटनाको उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिँदै तीन सदस्यीय न्यायिक आयोग गठनको घोषणा गरेका छन् ।