बहराइनलाई ८ विकेटले पराजित गर्दै युएई सेमिफाइनलमा

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा प्रवेश गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। युएईले ६ अङ्क जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

समूह चरणमा चार खेल खेलेको युएईले तीन खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । पहिले ब्याटिङ गरेको बहराइनले युएईलाई जितका लागि ११७ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा युएईले २७.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेका थिए ।

युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ८४ बलमा ५ चौका र १ छक्काको मद्धतमा अविजित ६२ रन बनाए । त्यसैगरी रोहन मुस्तफाले ५० रन जोडे । उनले ५६ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गर्दै अविजित ५० रन बनाए । बलिङतर्फ बहराइनका अब्दुल मजितले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनका लागि अलि दवद र हैदर बुटले समान २३/२३ रन जोडे भने मुहम्मद युनिसले १६ तथा इमरान अनवरले १४ रन बनाए । वासिक अहमदले १२ तथा अब्दुल मजितले ११ रन बनाए ।

बहराइनलाई एक सय १६ रनमा समेट्नेक्रममा युएईका आयन अफजल खान एक्लैले चार विकेट झारे भने रोहन मुस्ताफा र कात्तिक मैयप्पानले समान २/२ विकेट लिए । हारसँगै बहराइन भने प्रतियोगिताबाट बाहिरिएको छ ।