तीन अर्बको नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैङ्क

काठमाडौँ । मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले करिब तीन अर्ब रुपियाँ बराबरको नागरिक बचतपत्र २०८५ बिक्री गर्ने भएको छ । पाँचवर्षे अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ब्याजकर लाग्ने गरी दुई अर्ब ८२ करोड १४ लाख ७० हजार रुपियाँ बराबरको नागरिक बचतपत्र बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।

बचतपत्रमा वैशाख २४ गते आइतबारदेखि जेठ २४ गतेसम्म बोलपत्र पेस गर्न सकिने जारी सर्कुलरमा उल्लेख छ । नागरिक बचतपत्रको निष्कासन जेठ ३० गते गरिने तथा बचतपत्रको साँवा फिर्ता २०८५ जेठ गते हुने राष्ट्र बैङ्कले जनाएको छ । गत वर्ष साढे ११ प्रतिशत ब्याजदरमा नागरिक ऋणपत्र जारी गरेको राष्ट्र बैङ्कले यस वर्ष भने १० प्रतिशत ब्याज दिने गरी ऋणपत्र बिक्री गर्न लागेको हो ।

प्रत्येक छ महिनामा ब्याज दिइने उक्त बचतपत्र खरिद गर्न घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अङ्क बराबरको रकमका लागि आवेदन दिन पाइने सर्कुलरमा उल्लेख छ । नेपाल राष्ट्र बैङ्कका उपत्यका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन् । वाणिज्य बैङ्कहरूले ग्राहकलाई दिइरहेको भन्दा धेरै ब्याज नागरिक बचतपत्रमा रहेको छ ।

नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । बचतपत्रमा लगानी गर्दा ब्याजका अलवा चाहेको समयमा बिक्री गर्न वा धितो राखी कर्जा लिन सकिने, लगानी रकम जोखिममुक्त हुन्छ । नेपाली नागरिकले मात्र खरिद गर्न पाउने उक्त बचतपत्र धितो राखी राष्ट्र बैङ्कबाहेक अन्य बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ ।