सुपारी आयातमा ठूलो परिणामको आर्थिक चलखेल हुँदै

काठमाडौं । सरकारले छ महिनाअघि केही सीमित व्यापारीहरुलाई लाभ हुने गरी सुपारी आयातलाई खुला गरेपछि यसको तस्करी बढेको छ । उपकार गुट्खा, श्रीराम टोबाको र देउती गुट्खाको नाममा अहिले सुपारी आयातको बाटो खोलिएको हो । उद्योगको नाम देखाइए पनि सुपारी आयातको कोटा प्रदीप मित्तल र दिनेश राठीलाई दिइएको स्रोतले जनाएको छ ।

श्रीराम गुट्खा उद्योगमा कमलकिशोर मालपानी, विराटनगरका उद्योगी दिनेश राठी संलग्न टोलीले सुपारी आयात खुलाउन प्रमुख भूमिका खेलेको थियो । सो टोलीले शक्ति केन्द्रलाई आर्थिक प्रभावमा पारेर आयत खुला गराएको थियो ।

सुपारीको कारोबारबाट सुपारी समूहले पाँच अर्ब भन्दा बढी घोटला गरेको र हाल सुपारीको मूल्य प्रतिकिलो एक सयमा झारेर एक अर्बको बढीको चलखेल गर्न थालेको स्रोतको दाबी छ । त्यस्ता कारोबारीहरु अहिले अर्थ मन्त्रालयमा गएर दबाब दिन थालिरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ । संघीय सरकारको वार्षिक बजेट सार्वजनिक हुँदै गर्दा तस्करहरु दर रेट घटाउन सक्रिय रहेको समेत पाइएको छ ।

मन्त्री र कर्मचारीहरुको सेटिङमा खुला गरिएको सुपारी आयातमा ठूलो परिणामको आर्थिक चलखेल भएको पाइएको र आर्थिक चलखेलकै कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीहरूले सुपारी, केराउ, छोगडा जस्ता वस्तु आयातको टिप्पणी उठाएर स्वीकृतिका लागि प्रधानमन्त्री कार्यालयमा पठाएका थिए ।

नेपालकै ठूलो सुर्ती कम्पनी श्रीराम टोबाको कम्पनीका किशोर मालपानी, विजयकुमार मालपानी र उमाशंकर मालपानी दाजुभाइसँग डिल गरेर सो चाजोपाँजो मिलाइएको स्रोत बताउँछ । ‘सुपारी तस्करीको लाइन खुलाउन कम्तीमा ५० देखि ६० करोड रूपैयाँको डिल भएको थियो’, स्रोतले भन्यो । यसको संयोजन पूर्वमा विराटनगरका व्यवसायी दिनेश राठीले गरेका थिए ।

सुपारी मुख्यतया इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड लगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ । आयात भएको सुपारी भारत तस्करी हुने गरेकाले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले परिमाणात्मक बन्देज लगाएको थियो ।

व्यापारी दिनेश राठीलगायतका व्यवसायीहरूको सुपारी आयात नै मुख्य धन्दा हो । भारतमा सुपारी आयात बन्देज छ । त्यसैले नेपालका केही व्यापारीले सरकारलाई प्रभावित पारेर आफूलाई फाइदा हुने गरी आयात खुलाउने र तेस्रो मुलुकबाट आयात गरेर अवैध बाटो हुँदै भारत लैजान्छन् ।

उनीहरुले सुपारी आयात गरी विदेश पठाउन थालेपछि नेपालको सुपारीको मुल्यमा गिरावट आउने गरेको छ । त्यतिमात्र होइन नेपालमा उत्पादन भएको सुपारी बिक्री हुनसमेत छाडेको छ । तर व्यापारीहरुले आयात गरेको सुपारीलाई पनि नेपालमै उत्पादन भएको भन्दै भारतमा तस्करी गर्ने गरेको स्रोतको दाबी छ । सुपारीको आयात खुलाउदा २० देखि २५ रुपैयाँ प्रतिकिलो कमिशन छुट्याउने गरिएको स्रोतको दाबी छ ।

भन्सार विभागले सुपारी आयातको मात्रै विवरण राख्ने गरेको छ । निर्यातको विवरण नै नभएको स्रोतले जनाएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा आर्थिक वर्ष २०७७–०७८ मा १ अर्ब १६ लाख रुपैयाँ बराबरको ६ हजार ४१५ टन सुपारी आयात भएको छ । उक्त सुपारी आयात भएको विवरण देखिए पनि निर्यातको विवरण भन्सार विभागसँग छैन ।

थाइल्याण्ड, इन्डोनेसियाबाट आयात भएको सुपारी अवैध रूपमा भारत पठाउने गरिएको छ । भन्सारका कर्मचारीसँग मिलेर विदेशी सुपारीलाई नेपाली उत्पत्तिको प्रमाण पत्र दिने र भारत निकासी हुने गरेकाले त्यसको विवरण नराखिएको स्रोतको दाबी छ ।