मुलुक भ्रष्टाचारमा चुर्लम्म डुबेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुक भ्रष्टाचारमा चुर्लम्म डुबेको भन्दै नेपालमा कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिषप्रर्धा भइरहेको आरोप लगाएका छन् ।

त्यस्तै उनले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउने चुनौति रहेको बताए।

बुधबार ३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा पार्टी कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पार्टीभित्र अलोकतान्त्रिक चरित्र विद्यमान रहेको अवस्थामा राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउने चुनौति रहेको बताएका हुन्।

नेता नेपालले नीतिभन्दा नेता प्रधान,सामूहिक नेतृत्वको सिद्धान्त पालना गर्नुभन्दा एउटा नेताको निर्देशन पालना गर्नुपर्ने अवस्था रहेको जिकिर गरे।

उनले अहिलेको परिस्थितिमा कम्युनिष्ट पार्टीबीच एकताका लागि छलफल भइरहेको भन्दै समानताका आधारमा अघि बढ्न तयार रहेको बताए । अध्यक्ष नेपालले मदन भण्डारीले नेपाली राजनीतिलाई सहि बाटोमा लिएर जाने अभियान स्मरण गरे।

उनले मदन–आश्रितको रहस्यमय मृत्यु पर्दामा लुकेको भन्दै राम्रोसँग छानविन हुन नसकेको धारणा समेत राखे।