शरणार्थी भ्रष्टाचार प्रकरण : प्रहरीले आज अनुसन्धान प्रतिवेदन नबुझाउने

काठमाडौं ।भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार प्रतिवेदन नबुझाउने निर्णय गरेको छ ।

बुधबार रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएपनि अनुसन्धान नसकिएकोले प्रतिवेदन आज बुझाउन नसकिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले बताए । उनले भने, अनुसन्धानका क्रममा गर्नुपर्ने कामहरु पूरा नभएकाले आज प्रतिवेदन नबुझाउने भएका हौं, छिट्टै बुझाउने प्रयासमा छौं ।

प्रहरीले यसमा संलग्नलाई अहिले ठगी र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरेको छ । यसमा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेश गर्नुपर्छ । सरकारी वकिलले अध्ययनका लागि भन्दै एकसाता अघि बुधबार प्रतिवेदन बुझाउन भनेको थियो ।

तर, अनुसन्धान नसकिएपछि प्रहरीले प्रहरी नबुझाउने भएको हो । फेरि म्याद थप गरेर अनुसन्धानको बाँकी काम पूरा गर्ने काठमाडौं प्रहरीको तयारी छ ।