भ्रष्टाचारविरुद्ध चट्टानी अडान लिनुपर्छ,गल्ती संरक्षण गरेर पार्टी बर्बाद पार्न हुँदैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले कांग्रेसले दुई चार जनाको गल्ती संरक्षण गरेर पार्टी बर्बाद पार्न नहुने धारणा व्यक्त गरेका छन्।

नेपाली कांग्रेस झापाको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन्।

भ्रष्टाचारविरुद्ध चट्टानी अडान लिनुपर्ने दोहोर्‍याउँदै नेता पौडेलले दुई चार जनाको गल्ती संरक्षण गरेर पार्टी बर्बाद पार्न नहुने बताए। भुटानी शरणार्थी सम्बन्धी विषयमा जो–सुकै दोषी देखिए पनि कारबाही गर्नुपर्नेमा उनको जोड थियो।

‘‘हामी सच्चिए अन्यत्र गएकाहरु पनि फर्किन्छन्’’, नेता पौडेलले भने, ‘‘निराश हुने अवस्था आएको छैन। तिनै तहका सरकारमा कांग्रेस छ। यिनको नेतृत्व गर्नेले समस्याको पहिचान गरेर समाधानका लागि जनपक्षीय काम गर्नुपर्छ। यो निर्वाचन परिणामको सन्देश हो।’’

विचार र आस्था मारेर सत्तामा बसिरहनु नहुने टिप्पणी गर्दै नेता पौडेलले केही नेताको सत्तामा बस्ने गलत प्रवृत्तिका कारण निर्वाचनमा गठबन्धन भएको बताए । लोकप्रिय कार्यक्रम ल्याएर आगामी निर्वाचनमा दुई तिहाई जनमत ल्याउने गरी कांग्रेसले काम गर्नुपर्नेमा जोड दिँदै नेता पौडेलले सत्ता प्राप्तिमात्रै राजनीतिको उद्देश्य नभएको बताए।

पार्टीको संगठन शुद्धिकरण र सुदृढीकरणका लागि प्रधानमन्त्री, पार्टी सभापति, जनप्रतिनिधि एवं मन्त्रीमा निश्चित समयावधि तोकेर नेतृत्व हस्तान्तरणको सिद्धान्त अपनाउनुपर्नेमा नेता पौडेलले जोड दिए।

कांग्रेसले सरकारमा रहँदा थुप्रै जनपक्षीय एवं विकासका काम गरे पनि त्यसको खासै चर्चा नभएको बताउँदै अब सबै तहमा डिजिटल समिति गठन गरेर पार्टीले गरेका कामको प्रचार–प्रसारमा तीव्रता दिनुपर्ने उनको भनाइ छ।