प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किँदै छन्। बुधबार भारत गएका प्रचण्ड अपराह्न ५ बजे स्वदेश फर्किन लागेका हुन्।

शुक्रबार इन्दोरमा बास बसेका प्रधानमन्त्री प्रचण्ड आज दिल्ली हुँदै स्वदेश फर्किन लागेका हुन्। यसअघि शुक्रबार प्रधानमन्त्री प्रचण्डले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका थिए। उनले इन्दोरको फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए।

‘स्वच्छ भारत अभियान’को नेतृत्व गरेको यो शहरले प्राप्त गरेको सफलतालाई काठमाडौँमा प्रयोग गर्न सकिने भन्दै प्रचण्डले फोहर व्यवस्थापनको ढाँचाका बारेमा सरकारले थप अध्ययन गरेर अगाडि बढ्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले शुक्रबार बेलुकी रात्रिभोज आयोजना गरेका थिए। प्रचण्डले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको बताएका छन्।

भारतका भ्रमणका क्रममा दुई देशबीच विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माण लगायतका विषयमा सात सम्झौता भएको छ।