नदीजन्य वस्तु उत्खनन् र निकासीमा लगाइयो रोक

फाईल तस्बिर

काठमाडौं । पाल्पामा सबै खोला र नदीमा नदीजन्य वस्तु निकाल्न रोक लगाइएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकाल्न रोक लगाइएको हो ।

वर्षाको समयमा विपद्का घटना बढाउने कार्य रोक्न जिल्ला विपद् व्यवस्थापन समितिले यो निर्णय गरेको छ ।

तीन महिना ठेक्का लागेका नदीजन्य पदार्थको समेत उत्खनन् गर्न नपाइने र कसैले निकासी गरेमा कानुनअनुसार कारबाही हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । ढुंगा, गिट्टी, बालुवा, तथा माटो निकासी प्रतिबन्धलाई कार्यान्वयनका लागि सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको छ ।

बाढीपहिरोलगायतका सम्भावित विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य योजना पनि बनाएर अघि बढिने सीडीओ बास्तोलाले बताए । स्थानीय तह, जिल्लास्थित सरकारी कार्यालय, सरोकारवाला निकायले आवश्यक तयारी गर्न आग्रह गरिएको र बाढी, पहिरोका कारण हुनसक्ने राजमार्ग अवरुद्ध, टेलिफोन, विद्युत् अबरोध तत्काल हटाउने पनि निर्णय गरिएको छ ।