खाणका वकिलको बहस : हचुवाको भरमा मुद्दा ल्याइएको छ

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुछिएकामध्ये आजदेखि पूर्वगृहमन्त्री एवं कांग्रेस बालकृष्ण खाणका तर्फबाट बहस सुरू भएको छ ।

बहस गर्दै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले खाणलाई फसाउन हचुवाको भरमा मुद्दा ल्याइएको जिकिर गरेका छन् । उनले मन्त्रालयमा सम्बन्धित शाखा-महाशाखा प्रमुखले काम गर्ने भएपनि गृहमन्त्रीले नै सबै गरेकोजस्तो देखाइएको दाबी गरे ।

‘शरणार्थी समबन्धी शाखा महाशाखा प्रमुखको साथमा पो हुन्छ । यो केसमा गृहमन्त्रीलाई मेसेन्जरजस्तो बनाएर लाग्छ कि उसैको नियन्त्रणमा डकुमेन्ट बनाएर गरिएको भन्दै हचुवाको भरमा मुद्दा ल्याइएको छ’, केसीको जिकिर थियो ।

‘जाहेरवाला कसैले बालकृष्ण खाणको नाम पोल्न सकेका छैनन् । एकजनाको पेटबोलीमा नाम देखिन्छ । त्यसलाई पनि पुष्टि गर्ने अवस्था छैन । जाहेरीवाल कसैले नाम नदिएको अन्तिम समयमा बालकृष्ण खाणलाई पेटबोलीमा राखेर राज्य नै लागेको छ’, केसीले भने ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको हो । खाणको पक्षबाट बहस गर्न ३४ वकिलले नाम टिपाएका छन् । अझै केही आरोपीका तर्फबाट थुनछेक बहस बाँकी रहेकाले त्यसपछि मात्रै थुनछेक आदेश आउने अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।

यसअघि १२ जनाका तर्फबाट थुनछेक बहस सकिएको छ । अझै पाँचजनाका तर्फबाट वकिलले बहस गर्न बाँकी छ । अब आरोपी टेकनाथ रिजाल, आङ्टावा शेर्पा, लक्ष्मी महर्जन, शमशेर मियाँ र हरिभक्त महर्जनको बहस बाँकी रहेको जनाइएको छ ।

उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा ईन्द्रजीत राईलगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

यसअघि बहसको समय बाँडफाँटका हिसाबले बुधबारसम्मका लागि समय तोकिएको थियो । अदालतमा पूर्वमन्त्री खाणका पक्षमा धेरै वकिलले बहस गर्न नाम दिएकाले समय लम्बिनसक्ने बताइएको छ ।

उक्त शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदनसहितको फाइल जिल्ला सरकारी वकिललाई दिएपछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा यही जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । त्यसपछि आरोपीहरुको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको हो । तीन दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलहरुको बहस भइरहेको छ ।

उक्त घटनामा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोही अनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो । त्यसमाथि सार्वजनकि ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय हुनसक्छ । कैदका साथै रु २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ । उक्त घटनाका आरोपी १२ जना अझै फरार छन् ।