भुटानी शरणार्थी प्रकरण : आज पनि खाण पक्षका वकिलहरूले बहस गर्ने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बुधबार पनि पूर्वगृहमन्त्री बालकृष्ण खाँणकै पक्षका वकिलहरूले बहस गर्ने भएका छन् ।

हिजो मंगलबार पनि खाँणका तर्फबाट दशजना वकिलहरूले दिनभरि बहस गरेका थिए । हिजो बहस टुंगिन नसकेपछि आज पनि बहस हुन लागेको हो।

खाणको पक्षमा बहसका लागि डेढ दर्जन बढी कानुन व्यवसायीले नाम टिपाएका छन्। आज पनि सुरुमा उनकै कानुन व्यवसायीले बहस गर्नेछन्।

काठमाडौँ जिल्ला अदालतले दिनमा ३ जना प्रतिवादीको बहस टुंग्याउने गरी समय निर्धारण गरेको थियो।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हिजो भएको बहसमा खाँणका तर्फका वकिलहरूले एउटा कुरा दोहोर्‍याइरहँदा न्यायाधीश ‘इरिटेड’ भएका थिए।

हिजो खाणका तर्फबाट हरिहर दाहाल, नेरसिंह केसी, महादेव यादव, एकराज पोखरेल, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, पंकज कर्णलगायतले बहस गरेका थिए।