कर्मचारीमाथि कुटपिटको विषयलाई लिएर देशभरका अदालतका कर्मचारीहरु आन्दोलित

काठमाडौं। ललितपुर जिल्ला अदालतका महिला कर्मचारीमाथि कुटपिटको विषयलाई लिएर देशभरका अदालतका कर्मचारीहरु आन्दोलित बनेपछि कानुन व्यवसायीहरु पनि प्रतिवादमा उत्रिएका छन्। नेपाल बार एसोसिएसनकै अगुवाइमा कानुन व्यवसायीहरुले देशभरकै अदालतमा बहस पैरवी गर्न अस्वीकार गरेका छन्। कानुन व्यवसायीको प्रतिकारपूर्ण आन्दोलनले सेवाग्राही नै मारमा परेका छन्।

ललितपुर जिल्ला अदालतका नायव सुब्बा प्रेमिका तामाङमाथि बुधबार साँझ अधिवक्ता अमिर लामिछानेले हातपात गरेको विषय सार्वजनिक भएको थियो। लामिछानेलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान पनि अगाडि बढाएको थियो। तर अदालतमा कार्यरत कर्मचारीहरुले भने लामिछानेमाथि अदालतको अवहेलनामा समेत कारबाही हुनुपर्ने सहित माग राखेर आन्दोलन गरे।

अदालतका कर्मचारीहरु आन्दोलित बनेपछि कानुन व्यवसायीहरु पनि प्रतिवादमा उत्रिएका छन्। लामिछानेलाई कृत्रिम मुद्दामा फसाइएको दाबीसहित कानुन व्यवसायी पनि आन्दोलित बनेका छन्। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव सञ्जीता खनालले संयुक्त विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएको विरोधमा देशभरका अदालतका बहस बहिस्कार गरिएको उल्लेख छ।

अदालतका कर्मचारीहरुले आइतबार पनि आफूहरुको सुरक्षा माग गर्दै १० बजे देखि १:३० बजेसम्म अदालत ठप्प पारेका थिए। उनीहरुले कार्यस्थलमै आक्रमण हुन थालेको आफूहरुले सुरक्षित रुपमा काम गर्न नपाउने हो भने थप आन्दोलन गर्ने कर्मचारीको चेतावनी थियो।

असार १३ गते (बुधबार) ललितपुर जिल्ला अदालतमा अदालती काम कारबाहीको सन्दर्भमा सेवा लिनेरदिने क्रममा उच्च अदालत बार एसोसिएसन पाटनका सदस्य अधिवक्ता अमिर लामिछाने र ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्वा प्रेमिका तामाङबीच विवाद भएको थियो। अदालतको फाँटमा रहेको फाइल हेर्न नमिल्ने भन्दै प्रतिवाद गर्न खोज्दा आफूमाथि लामिछानेले आक्रमण गरेको भन्दै तामाङले प्रहरीमा जाहेरी दिएकी थिइन्।

बारले भने ती कर्मचारीले घुस मागेको भन्ने तर्क अगाडि सारेको छ। अधिवक्ता लामिछानेले घुस दिन अस्वीकार गरेपछि विवाद सुरु भएको बारको दाबी छ। इजलासबाट भएको आदेश हेर्नलाई खर्च (घुस) मागेपछि विवाद भएको र घुस माग्ने कर्मचारीमाथि कारबाही हुनुपर्नेमा कानुन व्यवसायीमाथि कारबाही हुनु गलत भएको बारको तर्क छ।

अदालतमा जडित सीसी क्यामेरको माध्यमबाट सत्य तथ्य अन्वेषण गरी दोषीउपर कारबाही प्रक्रिया अगाडि बढाउनु पर्नेमा सीसीटीभी फुटेज नहेरी विवादलाई आफ्नो पक्षमा पार्न कर्मचारी उद्वेलित भएको आरोप बारले लगाएको छ।