काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेत

काठमाडौं । सहसचिव जितेन्द्र बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी भएका छन्।

गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा एवं प्रवक्ता रहेका सहसचिव बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी भएका हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंमा रहेका घनश्याम उपाध्यायको सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै मन्त्रालयले बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरूवा गरेको हो।

यसअघि बस्नेत राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक, गोरखा, चितवन, पर्साका प्रमुख जिल्ला अधिकारी भइसकेका छन‍्।

उनी सुदूरपश्चिम प्रदेश सचिवालय, प्रधानमन्त्री कार्यालय र भुकम्प प्राधिकरण कार्यालयमा समेत रहिसकेका छन्।