बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाललाई उपाधि

काठमाण्डौ । बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको उपाधि जितेको छ ।

आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

यसअघि गएको बिहीवार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गोलको बराबरी खेलेका थिए ।

योसँगै नेपालले गएको वर्ष काठमाण्डौमा भएको साफ च्याम्पियनशिपको फाइनलमा हारेको बदला लिएको छ । नेपाल साफ फाइनलमा बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो ।