बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । कास्कीको रूपा गाउँपालिका -३ पोल्याङफेदीमा सवारी दुर्घटनामा परी सोमबार बिहान एक जनाको मृत्यु भएको छ । पोखराबाट लमजुङतर्फ आउँदै गरेको ग १ ख ७६८६ नम्बरको यात्रुबहाक बस र लमजुङबाट पोखरातर्फ जाँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकल सोमबार बिहान पौने ८ बजे पोल्याङफेदीमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल नगरपालिका -६ भोर्लेटारका अन्दाजी २३ वर्षीय विवेक विकको मृत्यु भएको हो । मोटरसाइकलमा सवार दिपेन्द्र विक गम्भीर घाइते भएका छन्। उनको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।

दुर्घटनापछि सख्त घाइते भएका दुवैजनालाई उपचारका लागि गण्डकी अस्पताल पोखरामा लगिएकोमा उपचारका क्रममा विवेक विकको निधन भएको कास्की प्रहरीले जनाएको छ । अर्का घाइते दिपेन्द्र विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बसका चालक विशाल गुरूङलाई नियन्त्रणमा लिएको छ ।