रास्वपा विवाद : अध्यक्षलाई हटाएर तोकियो नयाँ जिल्ला संयोजक

काठमाडौं । विवाद उत्पन्न भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देहीमा ५ महिनामै नेतृत्व परिवर्तन भएको छ।

जिल्ला अध्यक्ष रहेका प्रकाश ज्ञवाली र सैनामैना र्‍यापिड एक्सन टिम संयोजक दामोदर खत्रीबीच विवाद उत्पन्न भएपछि ज्ञवालीलाई जिल्ला अध्यक्षबाट हटाइएको छ।

रास्वपाका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले जिल्लाभित्र नेतृत्वको बीचमा विवाद भएकाले नयाँ विकल्पका लागि नेतृत्व फेरिएको बताए।

गत माघ २४ गते जिल्ला अध्यक्ष बनेका ज्ञवालीलाई हटाएर प्रदेश कमिटी सदस्य रहेका बुद्धिप्रसाद शर्मालाई जिल्ला संयोजक बनाइएको छ।

यसअघि खत्रीले कुटपिट गरेको भन्दै ज्ञवाली, प्रदेश उपसभापति शालिकराम घिमिरे र रूपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतको समूहले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।

उक्त उजुरीपछि खत्रीले ज्ञवालीकव समूहले आफूमाथि कुटपिट गरी आफूविरूद्ध नै उजुरी दिएको भन्दै पत्रकार सम्मेलन गरी रास्वपाको विवाद बाहिर ल्याएका थिए।

पार्टीभित्रको विवाद बाहिर ल्याउने खत्रीलाई पार्टीबाट निष्कासनका लागि प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको छ।

रास्वपाका लुम्बिनी प्रदेश अध्यक्ष पाठकले आइतबार दुबै समूहलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखेर गरिएको छलफलमा खत्रीले आफूले घिमिरेको समूहलाई कुटपिट गरी गल्ती गरेको स्वीकार गरेपछि घटना मिलाइए पनि पार्टीबाट निष्कासनका लागि केन्द्रमा सिफारिस गरि पठाइएको बताए।

‘खत्रीले प्रहरीसामू आफूले कुटपिट गरेर गल्ती गरेको भनेर स्वीकार गर्नुभयो, आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने भनेर कागज पनि गर्नुभएको छ, तर उहाँ अहिले निलम्बनमा पर्नुभएको छ भने निष्कासनको लागि केन्द्रमा सिफारिस गरिएको छ,’ पाठकले भने।

खत्रीले भने शनिबार नै पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेको घोषणा गरेका थिए।

सेतोपाटी